गीत चोरेको आरोपमा भुवन केसीविरुद्ध शम्भु प्रधान प्रहरीमा

२३ फाल्गुन २०७४, बुधबार ०९:३९

फागुन २३, काठमाडौं ।

सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’ यतिबेला हलहरुबाट उत्रिसकेको छ । तर, यो फिल्ममा समावेश गरिएको एउटा गीतमाथि लफडा सुरु भएको छ ।


पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् ।

कृका निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध उजुरी लिएर करिब १० दिनअगाडि शम्भु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, डिएसपी मोहन थापाले उजुरी दर्ता नगरी दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास गर्दै आएका छन् ।

‘तपाईंहरु दुवै एउटै क्षेत्रका सम्मानित व्यक्तिहरु हुनुहुन्छ,’ उनले दुवै पक्षलाई भने, ‘मुद्दा मामिला गर्नुको साटो सहमतिमा जानुस् ।’

त्यसपछि शम्भुले भुवन र सुवाससँग पटक-पटक कुराकानी गरेका छन् । कुराकानीका क्रममा सुवासले एक लाख क्षतिपूर्ति दिन सक्ने प्रस्ताव शम्भुलाई राखेका थिए । तर, शम्भुले त्यसलाई ठाडै अस्वीकार गरे ।

आफ्नो गीत चोरेकै कारण कृले राम्रो व्यापार गरेको भन्दै उनले फिल्मले उठाएको पैसामध्ये आधा आफूले क्षतिपूर्तिका रुपमा पाउनुपर्ने जिकिर गरेका छन् । उजुरीमा पनि उनले यही माग गरेका छन् ।

डीएसपी थापाले भने गीतका मूल सर्जक रञ्जित गजमेरलाई लिएर आए मात्र उजुरी दर्ता गर्ने शम्भुलाई बताएका छन् । दार्जिलिङवासी संगीतकार गजमेर यतिबेला काठमाडौंमै छन् ।

पोखरामा एउटा सम्मान ग्रहण गर्ने क्रममा उनी नेपाल आएका थिए । भोलि गजमेरलाई साथै लिएर आफू टेकु प्रहरीमा जाने शम्भुले बताए ।

‘रञ्जित दाइ आफैंले मलाई फोन गरेर आफ्नो गीत यसरी चोरिएकोमा असन्तुष्टि जनाउनुभएको छ,’ उनले भने, ‘अब उहाँसँगै मिलेर म यो लडाई लड्छु ।’

यस विषयमा कृका निर्माता गिरीसँग बुझ्दा गीतको सानो अंश कपि गरिएको स्वीकार गरे । भुवन केसीको प्रस्तावमा यो अंश राखिएको उनको भनाइ छ ।