गाउँपालिका प्रमुखहरुको सेवा सुविधा पर्याप्त नभएको गुनासो

१६ चैत्र २०७४, शुक्रबार ०७:३८

चैत १६, काठमाडौं ।

गाउँपालिका प्रमुखहरुले आफूहरुलाई दिइएको सेवा सुविधा पर्याप्त नभएको गुनासो गरेका छन् । प्रदेश सरकारले आफूहरुलाई प्रदेश सरकारले खरदारको बराबरको सेवा सुविधा दिने निर्णय गरेर अन्याय गरेको उनीहरुको गुनासो छ ।

गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशन आगामी १७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । त्यसको तयारीका लागि भेला भएका गाउँपालिका प्रमुखहरुले सेवा सुविधाप्रति सेवा-सुविधा तोक्दा अपमानपूर्ण ब्यवहार गरिएको आरोप लगाए ।

महासंघका कार्यबाहक अध्यक्ष उद्धब रेग्मीले भने, ‘हामी जनताको सेवाका लागि आएका हौं । हामी सुविधा नलिई नै पनि सेवा दिन सक्छौं ।

तर, सुविधा तोक्दा मर्यादालाई पनि ख्याल राख्नुपथ्र्यो । अहिले तोकिएको सेवासुविधा खरदारको जत्ति पनि भएन । यसले मनोबल गिराउने काम मात्रै गरेको छ ।’

पत्रकार सम्मेलनमा उपस्थित केही गाउँपालिका प्रमुखहरुले स्थानीय तहमा अझै कर्मचारी नपुगेको गुनासो गरे ।

महासंघका प्रदेश ३ का संयोजक ईश्वरचन्द्र पोखरेलले सिंहदरबार छाडेका धेरै कर्मचारी गाउँपालिकामा हाजिर हुन नपुगेको बताए । ‘मलाई कर्मचारी किन आएनन् भनेर पत्रकारहरुले सोध्नुहुन्छ । सायद कर्मचारीहरु रत्नपार्कतिर बरालिँदै होलान्’ पोखरेलले भने, ‘कतिपय गाउँपालिकामा त प्रशासकीय अधिकृत र लेखा अधिकृत छैनन् । एउटै कर्मचारीले ३ वटासम्म वडा कार्यालयको काम हेर्दैछन् ।’

कार्यक्रममा सहभागी गाउँपालिका प्रमुखहरुले गाउँपालिकालाई दिएको अधिकार कटौती गर्ने षड्यन्त्र भइरहेको बताए । हिजो जिल्ला विकास समितिलाई छल्न विभिन्न सरकारी डिभिजन कार्यालयहरु खडा गरिएको स्मरण गर्दै उनीहरुले जिल्लाबाट खारेज हुने भनिएका कार्यालयहरु राखिरहन चलखेल भइरहेको बताए ।

महासंघका पूर्वअध्यक्ष नारायण कोइरालाले पनि जिल्ला समन्वय समिति र जिल्ला कार्यालयहरुको भूमिका स्थानीय तहको अधिकार र मर्म विपरित देखिन थालेको बताए ।

उनले भने,’ संविधानमा उल्लेख भएका अधिकारहरु प्रयोग गर्न नदिएर गाउँपालिकालाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ । महाधिवेशनमा यसबारे गम्भिर छलफल हुन्छ ।’

पत्रकार सम्मेलनमा सहभागी जनप्रतिनिधिहरुले स्थानीय तहमा भएका केही सामान्य नकारात्मक घटनालाई उचालेर सार्वजनिक गर्ने क्रम बढेको गुनासो गरे ।

स्थानीय तहले बजेट खर्च गर्न नसकेको रिपोर्ट सिहंदरबारबाट आइरहेको भन्दै उनीहरुले अहिले मूल्यांकन गर्ने समय नै नआएको बताए ।