गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम

२९ फाल्गुन २०७४, मंगलवार ०९:०२

फगुन २९, काठमाडौं ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ ।

कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६ च २५२६ नम्बर गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो । गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो ।

उक्त बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नं बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ ।

घर नजिकै रहेको कालीगण्डकी नदीको किनारमा लगेर सो बम निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

राति राखिएको उक्त बम स्थानीयवासीले बिहान देखेका थिए । गएराति नै कालीगण्डकी क्रसर उद्योगले भाडामा लिएको कुश्मा नगरपालिका–७ शिवबहादुर घर्तीको जेसिबीमा समेत आगजनी गरिएको छ ।

सहाना निर्माण सेवाको ग १ क ३७३६ नम्बरको जेसिबीमा आगजनी भएको प्रहरीले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मल्ल सो उद्योगका सञ्चालक हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।