‘औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने’ : प्रधानमन्त्री ओली

३० फाल्गुन २०७४, बुधबार ०७:३५

फागुन ३०, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभा, राष्टियसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा बालुवाटारमा आयोजित चियापानलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समयको मागअनुसार संशोधन हुन्छ ।’

उनले अघि भने, देशलाई नोक्सानी हुने, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ । ’

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने पनि बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ’ उनले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’

ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने दोहोर्‍याए । सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने जस्ता प्रचार गरेर भ्रम छर्न खोजेको भन्दै उनले भने, ‘यस्ताभ्रममा पर्नु हुँदैन । सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय अब सकियो ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले सांसद भएको भन्दै उनले सांसदका हरेक गतिविधि जनताको हितका निम्ति हुनु पर्ने बताए । ‘जनताले जे कुरा मन पराउछन्, त्यो गर्नुहोस । जे मन पराउँदैनन् त्यो गदै नगर्नुस्’ उनले भने ।