एकदिवसीय मान्यता पाउने दुई टोली लगभग पक्का, विश्वकप छनौटमा नेपालको दोस्रो हार

२५ फाल्गुन २०७४, शुक्रबार ०७:३०

फागुन २५, काठमाडौं ।

आफ्नो मात्र होइन, टेस्ट मान्यताप्राप्त अफगानिस्तान र एकदिवसीय मान्यता पाइसकेको नेदरल्याण्ड्सको खराब प्रदर्शनले नेपाललाई एकदिवसीय मान्यता पाउन निकै कठिन हुने देखिएको छ ।

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी नेपालले आफ्नो प्रमुख लक्ष्य भेट्ने हो भने अब न्यूनतम २ खेल जित्नै पर्ने अवस्था आएको छ ।

कि त समूह चरणमा बाँकी दुवै खेल, नभए सातौं प्लेसका लागि हुने प्लेअफका दुवै खेल जित्नुपर्ने हुन्छ । अन्यथा नेपाली क्रिकेटले आगामी चारवर्ष एकदिवसीय टोलीका रूपमा रहने स्वर्णिम मौका गुमाउने छ ।

प्रतियोगितामा सहभागी १० मध्ये ५ वटा (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्ड्स) टोलीसँग यो मान्यता छ । त्यसमा ४ वटा (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान र आयरल्याण्ड) त टेस्ट टीम नै हुन् । बाँकी ५ एसोसिएट टीम (नेपाल, स्कटल्याण्ड, युएई, हङकङ र पपुवान्युगिनी)मध्ये शीर्ष ३ ले ४ वर्षका लागि एकदिवसीय मान्यता पाउनेछन् ।

स्कटल्याण्ड पक्का

नेपाल रहेकै समूह ‘बी’मा रहेको स्कटल्याण्डले लगातार ३ खेल जित्दै शीर्ष ६ मा स्थान पक्का गरिसकेको छ । हालसम्मको नतिजा हेर्दा उसको एकदिवसीय मान्यता करीब पक्का भएको छ ।

नेदरल्याण्ड्सबाहेकका कम्तिमा ४ वटा एसोसिएट टीम शीर्ष ६ मा पुगेमा मात्र स्कटल्याण्डले एकदिवसीय मान्यता पाउन कुर्नुपर्ने हुन्छ, त्यो सम्भावना अहिले देखिएको छैन । त्यसैले एकदिवसीय मान्यता पाउने ३ मध्ये स्कटल्याण्ड एक टोली पक्का हो ।

युएईको सम्भावना प्रबल

बिहीबार भएको खेलमा नेदरल्याण्ड्सलाई युएईले पराजित गर्नु स्कटल्याण्डबाहेकका बाँकी एसोसिएट टोलीका लागि टाउको दुखाइको विषय बनेको छ । युएईले आफ्ना ३ मध्ये २ खेल जितेको छ । जसले उसलाई अंकतालिकाको तेस्रो स्थानमा कायम राखेको छ ।

समूहका ५ मध्ये पपुवान्युगिनी शीर्ष ६ मा नपर्ने पक्का भइसक्दा हालसम्मका दुवै खेल हारेको नेदरल्याण्ड्सलाई पनि सुपरसिक्समा पुग्न निकै कठिन देखिएको छ । नेदरल्याण्ड्सले अब वेस्टइण्डिज र पपुवान्युगिनीसँग खेल्न बाँकी छ । नेटरनरेट निकै नकारात्मक रहेको अवस्थामा नेदरल्याण्ड्सले बाँकी दुवै खेल जितेर मात्र पुग्नेछैन, रन रेटमा पनि निकै सुधार गर्नुपर्नेछ ।

यदि त्यसो हुन नसकेमा युएई बाँकी खेल हार्दा पनि शीर्ष ६ मा पुग्नेछ । यसरी हेर्दा एकदिवसीय मान्यता पाउने दोस्रो टोली युएई हुने सम्भावना निकै प्रबल छ ।