उदयपुरमा प्रशासकीय अधिकृतलाई निमित्तको जिम्मा

९ चैत्र २०७४, शुक्रबार ०८:२३

चैैत ९, काठमाडौं ।

जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ ।

प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर गएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हालसम्म कार्यालय प्रशासन प्रमुखविहीन बन्न पुगेको छ ।

प्रशासकीय अधिकृत कुमार खड्काले निमित्त प्रजिअको कार्यभार सम्भाल्दै आएका छन् ।

प्रजिअ तथा सहायक प्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २ सय विभिन्न प्रकारका सार्वजनिक मुद्दा अनिर्णित भएर रहेको कार्यालयले जनाएको छ ।

कर्मचारी भन्छन्, ‘प्रशासनमा उजुरी आइरहेका छन्, आफूहरुलाई निर्णय गर्ने अधिकार छैन, जनताले दुःख पाएका छन् ।’

निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन दिने नयाँ सरकारले घोषणा गरेपनि जिल्लामा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्था गर्न नसकेकामा नेकपा माओवादी केन्द्रका नेत्री तथा पूर्वसांसद मणि खम्बूले चिन्ता व्यक्त गरे ।

निमित्त प्रजिअको कार्यभार सम्हालेका प्रशासकीय अधिकृत खड्काले प्रजिअ नहुँदा आफूले गर्न नमिल्ने काम प्रभावित भएको बताए ।