उत्तर कोरियाली नेता किम चीन पुगेको पुष्टि, सी जिनपिङसँग भेटघाट

१४ चैत्र २०७४, बुधबार ०७:२०

चैत १४, काठमाडौं ।

उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेको खुलेको छ ।

किम सुटुक्क चीन गएको अपुष्ट खबरहरु प्रकाशमा आइरहेका बेला चिनियाँ सरकारी समाचार सेवा सिन्ह्वा र उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसको पुष्टि गरेका हुन् ।


सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् ।

सिन्ह्वाले किम र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटघाट भएको उल्लेख गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार सेवा केसीएनएले किमको चीन यात्रालाई ऐतिहासिक भएको विश्लेषण गरेको छ ।

अमेरिकासँग वार्ताको तयारीमा रहेको उत्तर कोरियाले चिनियाँ राष्ट्रपतिलगायतका उच्च राजनीतिक नेतृत्वसँग गरेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अघिल्लो महिना दक्षिण कोरियाको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ताको लागि तयार भएका थिए ।

यद्यपि, विश्लेषकहरुले उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नुअघि किम चीन जानसक्ने अड्कल गरेका थिए । विश्लेषकहरुको उक्त अनुमान सही सावित भएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठुलो सहयोगी मुलुक हो ।

सिन्ह्वाका अनुसार, सी जिनपिङसँगको भेटका क्रममा किमले प्रमाणु शक्ति घटाउने प्रतिबद्धता जनाएका छन् ।