इमो, भाइबर र फेसबुकबाट ठगी धन्दा, करोड भन्दा बढी ठगी, ९ जना पक्राउ

५ चैत्र २०७४, सोमबार ०८:२४

चैत ५, काठमाडौं ।

पोखराकी एक महिलाको मोबाइलमा इमो म्यासेज आयो, ‘तपाईंलाई २५ लाखको चिठ्ठा परेको छ । सो रकम लिन तपाईंको ट्याक्स क्लियर छैन ।

बोर्डरमा राजश्व तिर्नुपर्ने छ, ३ लाख रुपैयाँ पठाइदिए तपाईंले चिठ्ठाको पैसा पाउनुहुन्छ ।’ उनले पैसाको आशमा रकम बुझाइन् । उनले पछिमात्रै थाहा पाइन्, ठगिएछु भन्ने ।

पाल्पा निस्दीका यामबहादुर रानामगरले करिब डेढ वर्षअघि विदेशी नागरिकले आफू र आˆनो परिवारका लागि सामान र पैसाहरु पठाएको सामाजिक सञ्जालमार्फत आफन्तलाई सुनाए । त्यही पैसा र समानको ट्याक्स क्लियर गर्न आउँदा आफू थुनामा परेको भन्दै आफन्तसँग यामबहादुरले आर्थिक सहयोगको याचना गरे ।

यामबहादुरको याचनाले आफन्तको मन पग्ल्यो र बैंक अफ काठमाडौंको खातामा केही रकम पठाइदिए । तर, त्यसपछि न यामबहादुरले ती आफन्तलाई सम्पर्क गरे, न विदेशीले पठाएको पैसा र सामान नै पाएको खबर गरे । पछिमात्रै ती आफन्त ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गर्न पुगे ।

पछिल्लो समय इमो, भाइबर फेसबुक म्यासेन्जरमार्फत ठगी धन्दा बढिरहेको छ । चिठ्ठा परेको छ, उपहार परेको छ भन्दै सामाजिक सञ्चालनका विभिन्न माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने ठूलो गिरोह सक्रिय रहेको भेटिएको हो ।

इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ, उपहार आएको छ, विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जना ठगलाई प्रहरीले कास्कीमा सार्वजनिक गरेको छ ।

उनीहरुले कास्की लगायत विभिन्न जिल्लामा सामाजिक सञ्चालनको प्रयोगबाट २५ लाख रुपैयाँको चिठा परेको छ, तपाईंको परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै झन्डै १ करोड ३० लाख रुपैयाँको ठगेको प्रहरीको भनाइ छ ।

‘कसैले यति लाख चिठ्ठा परेको छ । त्यसका लागि यति पैसा चाहिन्छ भने प्रलोभनमा नपर्नुहोला,’कास्कीका प्रहरी प्रमुख अशोक सिंहले भने, ‘यसरी कसैले फोनै गरे पैसा माग्छ भने प्रहरीलाई खबर गर्नुहोला ।’

विदेशी नागरिकले पैसा पठाइदिएको छ र आफू थुनामा परेको भन्दै ठगी गर्ने पाल्पा, निस्दी-७ ज्यामिरेका २६ वर्षीय यामबहादुर रानामगर प्रहरीले प्रक्राउ गरेको छ ।

यस्तै सामाजिक सञ्जालबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भन्दै ८० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गर्ने धादिङ खनियावास-५ का २६ वर्षीय टेकबहादुर तामाङ र २४ वर्षीय नेनिस तामाङ, नेत्रावती-१ का २८ वर्षीय ठाकुर गुरुङ, र मनोज तामाङ गणेश गुरुङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका धादिङका ५ जनासँग सोधपुछ गर्दा उनीहरुले साउदी अरबमा रहेका नरेश राउत भन्ने व्यक्तिले भने बमोजिम पैसा झिकेर विभिन्न ठाउँमा पठाउने गरेको बताएका छन् ।

साउदीबाट नरेश राउतले धनुषास्थित संगीता मिश्रको नाममा पैसा पठाउने भनेपछि प्रहरीले पैसा पठाइदियो । धनुषा प्रहरीको सहयोगमा संगीता मिश्र र उनीसँगै रहेकी कामनी तिवारीलाई पनि पक्राउ गर्‍यो ।

संगीतामाथि प्रहरीले अनुसन्धान र सोधपुछ गर्दा त्यो सम्पूर्ण काम गर्न महोत्तरीका योगेन्द्र तिवारीले लगाएको खुलेपछि धनुषामा पक्राउ गरी प्रहरीले पोखरामा बुझाएको छ ।

चिठ्ठा परेको छ भन्दै ठगी धन्दा चलाएको भन्दै पक्राउ परेका ठाकुर गुरुङ धादिङमा पत्रकारिता गर्थे । उनले त्यहाँको रेडियो विहानीमा स्टेशन मेनेजरको रुपमासमेत केही समय काम गरेका थिए ।

१ जनालाई पोखरा, न्युरोड र १ जनालाई विरौटाबाट मनि ट्रान्सफरबाट पैसा निकाल्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । पोखरा डयामसाइडमा रहेको झर्ना होटलबाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१ जनाबाट ७५ हजारदेखि ३ लाखसम्म ठगी भएको र सयौं जना यसरी सामाजिक सञ्जालबाट ठगिएको प्रहरी प्रमुख अशोक सिंहले बताए ।

गिरोहले सर्वसाधारणलाई इमोबाट फोन गर्ने गर्थ्यो । हिन्दी भाषामा २५ लाखदेखि १ करोडसम्मको चिठ्ठा परेको जानकारी दिइन्थ्यो ।

उक्त रकम पाउनुअघि करबापतको पैसा पहिला नै पठाउनुपर्ने भन्दै आइएमइमार्फत् पैसा पठाउन अनुरोध गरिन्थ्यो । सामाजिक सञ्जालमा यस्तो गिरोह सक्रिय रहेकाले सचेत रहन कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले आग्रह गरे ।