अर्धशतकीयपछि पारसको विकेट गुम्यो, नेपाल थप संकटमा

२४ फाल्गुन २०७४, बिहीबार १०:५६

फागुन २४, काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले स्कटल्याण्डविरुद्ध निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

कप्तान पारस खड्काका अलावा अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

पारस ७५ बलमा ६३ रन जोड्दै आउट भए । यसक्रममा उनले ९ चौका प्रहार गरे ।

दोस्रो ओभरमा नै क्रिजमा आएका पारसलाई सोमपाल कामीका अलावा कुनै पनि ब्याट्सम्यानले साथ दिन सकेनन् । ३९ रनमा ५ विकेट गुमाएको अवस्थाबाट पारस र सोमपालले नेपाललाई केही माथि उठाएका थिए ।

सोमपाल १८ रन जोड्दै आउट भए ।

यो समाचार तयार पार्दा रोहितकुमार पौडेल र वसन्त रेग्मी क्रिजमा छन् । नेपालले ३० ओभर ३ बलमा ७ विकेट गुमाएर ११० रन जोडेको छ ।

पारस र सोमपालका अलावा दिलिप नाथ ४, आरिफ शेख २, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल समान १-१ रन तथा शरद भेसावकर रनको खाता नै नखोली आउट भए ।

जिम्बाब्वेसँग भएको पहिलो खेल हारेको नेपाललाई सुपरसिक्सको सहज यात्रा तय गर्ने सम्भावना बाँकी राख्न आजको खेल जित्नुपर्ने दबाब छ ।

स्कटल्याण्डले भने यसअघिका दुवै खेल जितेको छ । उसले अफगानिस्तान र हङकङलाई हराएको हो ।