अर्थमन्त्री डा. युवराज खतिवडा भारत जाने

३० फाल्गुन २०७४, बुधबार ०७:४३

फागुन ३०, काठमाडौं ।

अर्थमन्त्री डा. युवराज खतिवडा भारत भ्रमणमा जाने भएका छन् । आज बुधबार दिउँसो १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ ।

भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।

तीन दिने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले मुख्यवक्ताको रुपमा सम्बोधन गर्नेछन् । उनले कुनै राजनीतिक तथा कुटनीटिक भेटघाट भने नगर्ने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका नजिकका बुद्धिजीवीको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा भाग लिएर अर्थमन्त्री खतिवडा भोलि बिहीबार नेपाल र्फकनेछन् ।

सूचना प्रविधिका कारण मौलाउँदो आतंवादको नयाँ स्वरुपबारे अर्थमन्त्री खतिवडाले ‘कि नोट स्पीकर’का रुपमा सम्बोधन गर्नेछन् ।

आतंवादविरुद्ध नेपालले लिएको नीतिबारे पनि उनले विश्व समुदायलाई जानकारी दिनेछन् ।