सेनाले सबै सांसदलाई संसद् भवनबाहिर फ्याँक्यो : माल्दिभ्स संकट

४ फाल्गुन २०७४, शुक्रबार ११:३०

फागुन ४, काठमाडौं । एजेन्सी

माल्दिभ्समा सेनाले बुधवार सबै सांसदहरूलाई संसद् भवनबाहिर फ्याँकिदिएको छ । सांसदहरूलाई फ्याँकेको तस्वीरहरू विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) ले ट्वीट गरेर सार्वजनिक गरेको छ ।

माल्दिभ्समा विगत १४ दिनदेखि राजनीतिक संकट चलिरहेको छ । राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल घोषणा गरेका छन् ।

सेनाले मंगलवार संसद् घेरेको थियो र सांसदहरूलाई भित्र पस्न दिएको थिएन ।

एमडीपीका महासचिव अनस अब्दुल सत्तारले भने, ‘सुरक्षाफौजले सांसदहरूलाई संसद् भवनबाहिर फ्याँकिदिए । प्रधानन्यायाधीश अब्दुल्ला सईदले आफूलाई च्याम्बरबाट जबर्जस्ती घिसारेर निकालिएको भनी साँचो बोलेका रहेछन् ।’

सर्वोच्च अदालतले विपक्षी दलका नेताहरूलाई थुनामुक्त गर्ने आदेश दिएपछि राष्ट्रपति यामीनले त्यसलाई अस्वीकार गर्दै प्रधानन्यायाधीशलाई पक्राउ गराएका थिए अनि आफूविरुद्ध षड्यन्त्र भइरहेको भनी अनुसन्धान पूरा नहुन्जेल संकटकाल लगाएका थिए ।