सवारी दुर्घटनाबाट काठमाडौंमा ६ महिनामा १०५ को मृत्यु, धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाए

१५ फाल्गुन २०७४, मंगलवार १०:०४

फागुन १५, काठमाडौं ।

काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को छ महिनामा गाडी दुर्घटनामा १०५ जनाको मृयु भएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् ।

महाशाखाका डीआईजी सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउँछन् । ‘दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ’ उनले भने ।

महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आर्थिक वर्षको छ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०६९/७० मा १४८, २०७०/७१ मा १४३, २०७१/७२ मा १३३, २०७२/७३ मा १६६ र २०७३/७४ मा १८२ जनाले ज्यान गुमाएका थिए ।