राष्ट्रपति र प्रचण्ड एकातिर, ओली अर्कैतिर : वाम एकता

२३ माघ २०७४, मंगलवार ११:३१

माघ २३, काठमाडौं ।

प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी ओली ‘ब्याक’ भएको माओवादी नेताहरुले बताएका छन् ।

पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएको थियो । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाए ।

‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नुभयो’ दुई पार्टीवीचको एकता प्रक्रियामा सहभागी हुँदै आएका एक माओवादी नेताले भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा प्रकट गर्नुभएको छ ।’

ओलीले जबजको लाइनमा पनि अडान यथावत राख्ने बताएपछि आफूहरु आश्चर्यमा परेको एक माओवादी नेताले बताए ।

  • एकजना प्रधानमन्त्री, अर्को अध्यक्ष बन्नोस्- राष्ट्रपति

यसैवीच भारतीय विदेशमन्त्री सुष्मा स्वराज दिल्ली फर्किएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल गरिन् ।

आइतबार शीतलनिवासमा केपी ओली र प्रचण्डसँग ‘लञ्च’ सहितको छलफलमा राष्ट्रपति भण्डारीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद बाँडफाँट गरेर भए पनि मिल्न प्रचण्ड र ओलीलाई आग्रह गरेकी थिइन् । तर, ओलीले यो प्रस्ताव अस्वीकार गरेको माओवादी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

माओवादी स्रोतले भन्यो, ‘राष्ट्रपति पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिएर भए पनि वाम एकता गर्नुपर्‍यो भन्ने लाइनमा देखिनुभयो । तर ओलीजी आगामी महाधिवेशनबाट मात्रै जिम्मेवारी हस्तान्तरण गन तयार देखिनुभयो ।’

स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रचण्डलाई सहअध्यक्षमा मनाउन प्रयासरत छन् ।