मागलाई वेवास्ता गरेको भन्दै क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र तालाबन्दी

२५ माघ २०७४, बिहीबार ०९:१०

माघ २५ , काठमाडौं ।

सिरहामा आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले सिरहा मिर्चैयाको ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र तालाबन्दी गरेका छन् ।

नियमित कक्षा सञ्चालन गर्ने लगायतका विभिन्न आश्वासन दिए पनि क्याम्पस प्रमुख सञ्जयकुमार साहले बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेका छन् ।

लामो समयदेखि पठनपाठन नभएको विषयमा जानकारी गराए पनि सुनुवाई नभएकाले तालाबन्दी गरेको विद्यार्थी अरबिन्द सहनीले बताए ।

क्याम्पस प्रमुख साहले बिषयगत शिक्षक बिनानै आफूहरुलाई अध्ययन गर्न बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले विद्यार्थीहरुको समस्या जायज रहेकोले आवश्यक समन्वय गरी निकास दिने बताए । कलेज प्रशासनले अटेरी गरे सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गर्नेसमेत नगर प्रमुख यादवले स्पष्ट गरे ।

यता, कलेज प्रमुख साहसँग सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन सकेन ।