महामन्त्रीले फोटोसमेत नदेखेको बनिन् सांसद, दुई करोड दिएको आरोप

७ फाल्गुन २०७४, सोमबार १०:३३

फागुन ७, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट खसआर्य सूचीबाट नरमाया सांसद बनेपछि अहिले पार्टीका नेताहरुले नै खैलाबैला मचाएका छन्

पहिलो पटक खसआर्यको सूचीबाट रेणु शर्माको नाम राजपाले निर्वाचन आयोगमा पठाएको थियो ।

निर्वाचन आयोगले नाम सच्याएर पठाउन पत्र पठाएपछि नरमायाको नाम पठाउन राजपा बाध्य भएको हो ।

एकाएक आफ्नो पार्टीबाट नरमाया सांसद बनेपछि राजपाका शीर्ष नेता नै छक्क परेका छन् ।

  • सामान्य कार्यकर्ता मात्रै नभएर अध्यक्षमण्डलका सदस्यहरु नै नरमायालाई नचिनेको भन्दै सामाजिक सञ्जाल तताइरहेका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मात्रै नरमायालाई चिन्ने गरेको राजपाका एक नेताले व्यङग्य गर्छन् ।

महतोको जोडबलमा नै उनलाई समानुपातिक सूचीमा राखिएको उनले जानकारी दिए । खसआर्यको सूचीमा एक नम्बरमा नरमायाको नाम भएकाले उनी सांसद बन्ने सौभाग्य पाएकी छन् ।

अहिले नरमायाले सांसद बन्न २ करोड दिएका कुरा समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मधेस आन्दोलनमा सहभागी नभएको व्यक्तिलाई पैसा बलमा सांसद बनाइएको आरोप राजपा नेताहरुको छ ।

  • राजपा जुनसुकै नेतालाई नरमाया ढकालबारेमा सोध्दा महतो वा अनिल महासेठलाई सोध्नु भन्ने प्रतिक्रिया दिने गरेका छन् ।

नरमायाका आफन्तले उनले पार्टीलाई २ करोड दिन सक्ने हैसियत नभएको बताउँछन् । ‘उनी सामान्य परिवारकी हुन् , उनको पैसा दिएर सांसद बन्ने हैसियत छैन,’ उनका एक आफन्तले भने ।

तत्कालीन सदभावना एवम् हालको राजपाका महामन्त्री मनिष सुमनले पनि आफूले नरमायालाई नचिनेको बताए । उनले छोटो भने, ‘म चिन्दिनँ, मैले तस्बिर समेत देखेको छैन ।’ नरमायाको सामाजिक सञ्जालको तस्विर भने कुनै कलाकार भन्दा कम छैन ।