भोजपुरी गीत बजाएमा ५ हजार रुपैयाँ जरिवाना , १६ वर्षमुनिका युवायुवतीलाई मोवाईल प्रतिबन्ध

१९ माघ २०७४, शुक्रबार ०९:१२

माघ १९ , काठमाडौं ।

लहानमा विकृति बढाएको भन्दै कल्याणपुर नगरपालिकाका तीनवटा वडामा भोजपुरी गीत र जाँडरक्सी प्रतिबन्ध गरिएको छ ।

भोजपुरी गीतले महिलालाई अपमान गरेको, समाजमा विकृति, बिसंगति फैलाउने भएकोले वडा नम्बर ४, ५ र ६ मा रोक लगाइएको नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष मोतीबुल राइनले बताए ।

यसले झै-झगडा हुनुका साथै बालबालिका र महिलालाई नकारात्मक असर पार्ने भएकाले आफूहरुले बन्द गराउन अभियान नै थालेको उनले जानकारी दिए । तीनवटै वडालाई भोजपुरी गीतमुक्त क्षेत्र घोषणा पनि गरिएको छ । निर्णय विपरीत भोजपुरी गीत बजाएमा र जाँडरक्सी बिक्री गरेमा ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ ।

 

५ नम्बर वडाका वडाअध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतमा बसेको बैठकले सर्वर्सम्तिबाट विष्णपुर, चिकना र भोक्राहामा भोजपुरी गीत बजाउन र जाँडरक्सी बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको हो । जाँडरक्सी खाएर हल्ला गर्दै हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

जाँड रक्सी सेवनबाट हुने विकृति विसंगति, होहल्ला, झै-झगडा हुने र महिलाहरु हिंसाको शिकार हुनुपरेकाले समाजलाई शान्त बनाउन जाँड रक्सी निषेधित क्षेत्र घोषणा गरिएको ६ नम्बर वडा अध्यक्ष राइनले बताए । तीनवटै वडा क्षेत्रभित्र रहेका जाँडरक्सीका पसलहरु माघ मसान्तभित्र बन्द गर्न वडा कार्यालयले निर्देशन दिइसकेको छ ।

  • १६ वर्षमुनिका युवायुवतीलाई मोवाईल प्रयोग गर्न रोक

बैठकले १६ वर्षमुनिका युवायुवतीलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न रोक लगाउने निर्णय पनि गरेको वडाअध्यक्ष राईनले जानकारी दिए । मोवाइलले समाजमा विकृति बढाएको निष्कर्ष निकाल्दै प्रयोग गरेको पाइएमा पहिलो पटक ५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

बैठकले तीनै वडा क्षेत्रमा पर्ने कमला नदीबाट जथाभावी गिटी र बालुवा निकासी गर्न नदिने निर्णय पनि गरेको छ । विद्यार्थीहरुलाई परिचयपत्र उपलब्ध गराई पठनपाठनमा प्रोत्साहन गर्ने समेत निर्णय गरिएको छ ।