प्रदेश ६ को मुख्यमन्त्री २५ गते टुंगो लगाउने

२३ माघ २०७४, मंगलवार ११:०१

माघ २३, काठमाडौं ।

माओवादी केन्द्रले प्रदेश ६ को मुख्यमन्त्री २५ गतेभित्र टुंगो लगाउने भएको छ ।

मुख्यमन्त्रीका आकांक्षीहरुले अडान नछोडेपछि लम्बिएको छनौट प्रक्रिया २५ गते भित्रै टुंगिने भएको हो ।

प्रदेश कमिटीले मुख्यमन्त्रीको टुंगो लगाउन नसकेपछि तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

 

तर, पार्टी हेडक्वाटरले प्रदेशबाटै टुंगो लगाउन भन्दै सिफारिस भएका महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपालीको नाम प्रदेश कमिटीमै फिर्ता गरिदिएको छ ।

प्रदेशबाट मुख्यमन्त्रीको टुंगो लगाउन सकस भएपछि बिवादको सहजिकरण गर्न नेता जनार्दन शर्मा अस्थायी मुकाम सुर्खेत अाएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले २५ गते भित्र प्रदेश ६ को मुख्यमन्त्रीको छनाैट हुने बताए ।

वीरेन्द्रनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले पार्टी पद्धती अनुसार नै २५ गतेभित्र मुख्यमन्त्री चयन गरिने बताएका हुन् ।

महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाउन आउनुभएको हो भन्ने पत्रकारहरुको प्रश्नमा शर्माले भने,’त्यसो होइन, पार्टी पद्धती अनुसार चयन गर्ने हो । धेरैको दावी हुनु स्वभाविकै हो । म सहजिकरण गर्छु ।’