प्रदेश १ मा पूर्वाधार विकासमा सहयोग गर्ने स्विस राजदूतको प्रतिवद्धता

११ फाल्गुन २०७४, शुक्रबार ०९:१५

फागुन ११, काठमाडौं ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजा वेत भ्यानग्यातलरबीच शुक्रबार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा स्विस परियोजनामार्फत प्रदेश १ मा पूर्वाधार विकासमा सहयोग गर्ने विषयमा छलफल भएको हो ।

भेटका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ भित्र पूर्वाधार विकासमा सहयोग गर्न राजदूत भ्यानग्यातलरलाई आग्रह गरेका थिए ।

राजदूत भ्यानग्यातलरले स्विस विकास परियोजना अन्तर्गत आफूहरुले प्रदेश १ भित्र झोलुङ्गे पुल र सडक पुल निर्माणलाई प्राथमिकता दिएको बताइन् ।

भेटवार्तामा स्थानीय सरकारलाई कसरी सहयोग गर्ने र ग्रामीण क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्ने विषयमा छलफल भएको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री राईले आफूले कार्यभार सम्हालेपछि दातृ राष्ट्रका प्रतिनिधिसंग पहिलो पटक भेट गरेका हुन् ।