प्योङचाङमा इतिहासकै चिसो ओलम्पिक सुरू, विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै

२७ माघ २०७४, शनिबार ००:४९

माघ २७, काठमाडौं ।

२३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङचाङमा शुक्रबारबाट सुरु भएको छ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको थियो ।

शुक्रबारदेखि शुरु भएको यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुँदैछ ।

१०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिवन्ध खेपेको रुसका १६९ खेलाडीले यो प्रतियोगितामा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

यो ओलम्पिक पहिलो पटक दक्षिण कोरियामा आयोजना भएको हो। सोलमा १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो ।

तर, प्योङचाङ शीतकालीन ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको पहिलो शहर बनेको छ ।

यही ओलम्पिकबाट उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार हुने विश्वास गरिएको छ । शत्रुतापूर्ण सम्बन्ध रहेका दुबै कोरियाली प्रायद्वीपका खेलाडीहरु यो ओलम्पिकमा एउटै झण्डामुनि आएका छन् ।

उदघाटन समारोहमा दुवै कोरियाली खेलाडीहरुले एउटै झण्डा लिएर मार्चपास गरेका छन्।
प्योङचाङ ओलम्पिक, इतिहासमै सबैभन्दा चिसो क्षेत्रमा भएको पहिलो ओलम्पिकसमेत हो ।