पार्टी एकताको घोषणा गर्न चैत लाग्ने :नेता नारायणकाजी श्रेष्ठ, दुबै कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

१० फाल्गुन २०७४, बिहीबार १०:०९

फागुन १०, काठमाडौं ।

नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

दुबै कार्यदलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए ।

दुबै नेताले कार्यदलमा शीर्ष नेताहरु नै रहेको भन्दै सबैलाई मान्य हुने प्रतिवेदन आउन विश्वास व्यक्त गरेका छन् ।


एमाले माओवादी नेताहरुले फागुन ७ गते पार्टी एकताको सातबुँदे आधारमा हस्ताक्षर गरेका थिए । साथै पार्टीको संगठन र अन्तरिम विधान बनाउन दुई कार्यदल बनाएको थियो ।

संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

पार्टीको अन्तरिम विधान बनाउन गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल छन् ।

दुबै कार्यदलले प्रतिवेदन बुझाएपछि थप गृहकार्य गरेर पार्टी एकता घोषणा गरिने नेताहरुले बताएका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको घोषणा गर्न चैत लाग्ने बताए ।