तनहुँमा बस दुर्घटना, एकको मृत्यु, १ गर्भवती घाइते

१० फाल्गुन २०७४, बिहीबार १०:४७

फागुन १०, काठमाडौं ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङनजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।


दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए ।

दुर्घटनामा परी सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया नितु मगर घाइते भएकी छन् । गर्भवती समेत रहेकी उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नंको मिनीबस उक्त ठाउँमा सडक छेउमा दुर्घटना भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।