जेलको पर्खाल नाघेर ‘बलात्कारी’ फरार , सुरक्षामा गम्भीर लापरवाही

२३ माघ २०७४, मंगलवार ०८:५२

माघ २३, काठमाडौं ।

डकैती अभियोगमा कैद भुक्तान गर्दै आएका टीके भनिने टीकाबहादुर थापा मगर माघ ४ गते राति काठमाडौंको डिल्लीबजार कारागारको काँडेतार काटेर भागे । तर, नौ दिनपछि उनी चितवन रामनगरबाट पक्राउ परे ।

कैद सजायँ भुक्तान गरिरहेका कैदीबन्दी कारागारभित्रका सुरक्षा कमजोरीको फाइदा उठाउँदै भाग्ने सूचीका पछिल्ला उदाहरण हुन्, टीके । त्यस्ता कैदीबन्दी भागेका घटना अरु पनि प्रशस्त छन् ।

जेलबाट भाग्नेहरुमा कतिपय त्यस्ता अभियुक्त पनि छन्, जो कारागारबाट फरार भएको लामो समय बित्दा पनि सुरक्षाकर्मीको नजरबाट उम्किँदै आएका छन् ।

कारागारबाट ‘डाका’हरु मात्रै नभएर बलात्कारको अभियोग लागेका व्यक्तिसमेत भागेको रेकर्ड फेला पारेको छ ।


टिकेले आफू भागेको कसैले नदेखून् भनेर मानिसको चहलपहल हुने ठाउँतिर कपडा सुकाए । र, साँझ उचित मौका पाउनासाथ कारागारबाट टाप कसे

  • कसरी भागे ?

कैदीबन्दी गणनाका क्रममा हुने गल्तीको लाभ उठाउँदै उनी कारागारभित्रको फर्निचर उद्योग छेउमा लुकेर बसे ।

पर्खाल नाघेर भाग्नलाई भर्‍याङ बनाए । काँडेतार काट्नलाई पिलाससमेत तयारी अवस्थामा राखे । आफू भागेको कसैले नदेखून् भनेर मानिसको चहलपहल हुने ठाउँतिर कपडा सुकाए । र, साँझ उचित मौका पाउनासाथ कारागारबाट टाप कसे ।

कारागार प्रशासनले उनी फरार भएको भोलिपल्ट बिहान मात्रै थाहा पायो । उनी काठमाडौंमा हुने चोरी, लुटपाट र डकैतीका घटनामा पटक–पटक पक्राउ परेका थिए ।

प्रहरीले १३ माघमा उनी मुग्लिनतर्फ जाँदै गरेको सुराकी पायो । सोही आधारमा महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी चितवनको टोली उनको खोजीमा परिचालन भए ।

साँझ ५ बजे भरतपुर–१ रामनगरको ओमसाई पेट्रोलपम्प नजिक ना ४७ प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका टीके र प्रहरीबीच जम्काभेट भयो । एक थान कटुवा पेस्तोल र खुकुरीसहित भाग्दै गरेका टीके र उनका साथीले प्रहरी देख्नेबित्तिकै गोली चलाए । प्रहरीले जवाफी फायरिङ गर्‍याे ।

उनलाई पक्राउ गर्न प्रहरीले ६ राउन्ड फायरिङ गर्नुपर्‍याे । उनी घाइते भए, सँगै रहेका साथी भाग्न सफल बने । उनी काठमाडौं वीर अस्पतालमा उपचाररत छन् ।

सुन्धारास्थित केन्द्रीय कारागारमा ०६५ सालदेखि जबर्जस्ती करणीको सजायँ भोगिरहेका पुन्नबहादुर शाही गत मंसिर ४ गते पर्खाल नाघेर भागे

सजायँ सकिन दुई महिना बाँकी छँदा ‘फरार’

‘यहाँ धेरै पहिले लगाइएको पुरानो पर्खाल छ, जहाँ इँटाको चेपमा टेक्दै दक्षिणतर्फको पर्खाल नाघेर भागेको देखिन्छ,’ कारागारका कर्मचारी भन्छन्, ‘शाही अहिलेसम्म फेला परेका छैनन् ।’