गज्जबको स्मार्ट ज्याकेट, जसले स्मार्टफोन चार्ज गर्दछ

२५ माघ २०७४, बिहीबार ११:१४

माघ २५, काठमाडौं । एजेन्सी

घर बाहिर कतै जाँदा स्मार्टफोनको चार्जर वा पावर बैंक लिएर हिँड्नुपर्ने जमाना सायद सकिएछ । एउटा यस्तो ज्याकेट तयार भएको छ, जसले तपाइँको स्मार्टफोनको ब्याट्री चार्ज गरिदिनेछ ।

स्नोसी नामक उक्त ज्याकेटले कुनै तार विना नै ४० मिनेटमा स्मार्टफोन चार्ज गर्ने बताइएको छ ।

अमेरिकाको उटाहस्थि साल्टलेक सिटीमा रहेको वेब टेक्नोलोजी कम्पनी द वेब्सले यस्तो स्मार्ट ज्याकेट तयार पारेको हो ।

स्नो सी नामक स्मार्ट ज्याकेटमा ३ हजार मिलिएम्पिएर आवरको पावर बैंक लगाइएको हुन्छ । जसको माध्यमबाट यो ज्याकेट लगाउने मानिसले आफ्नो वायरलेस चार्ज सपोर्ट गर्ने स्मार्टफोन मज्जाले चार्ज गर्न सक्दछन् ।

कम्पनीका अनुसार यसको सर्किट यतिधेरै सुरक्षित तथा उत्कृष्ट छ की ठूलो वर्षा तथा निकै चिसोको मौसममा पनि यसले काम गर्दछ । यो ज्याकेट हिउँ तथा बरफ भएको क्षेत्रमा यात्रा गर्दा, कायाकिङ, पर्वतारोहण, स्किइङ तथा लामो पैदलयात्राका क्रममा निकै उपयोगी हुने बताइएको छ ।

यस ज्याकेटमा ५ भोल्टको ३ हजार मिलिएम्पिएर आवरयुक्त अल्ट्राथिन, लाइटवेट पावर बैंक जडान गरिएको छ । ज्याकेटको तल्लो भागमा यो पावर बैंक रहेको छ र यसले ज्याकेट लगाएर हिँडडुल गर्दा वा बस्दा कुनै असहजता हुँदैन ।

यो स्मार्ट ज्याकेटबाट आइफोन एक्स, एट तथा एट प्लस, सामसुङ एस सिक्सभन्दा माथिका मोडेलका सबै स्मार्टफोन चार्ज गर्न सकिने बताइएको छ ।

कम्पनीमा कालो र सिल्भर रङका दुई थरी ज्याकेट तयार गरेको छ । यहीँ वर्ष नै यो स्मार्ट ज्याकेटलाई बजारमा पठाउने कम्पनीको लक्ष्य छ । ज्याकेटको मूल्य २४९ डलर हुने बताइएको छ ।