काठमाडौंमा माउन्टेन बाइकिङ सिकारुका लागि नयाँ चार रुट

२७ माघ २०७४, शनिबार ०४:५८

माघ २७, काठमाडौं ।

१. भक्तपुर-नगरकोट-भक्तपुर

सुन्दरताको पर्याय बनिसकेको नगरकोट डाँडाबारे तपाईंलाई पक्कै थाहा होला । भक्तपुर दरबार क्षेत्रबाट खरिपाटी हुँदै साइकलमा यो डाँडा चढ्दाको सबैभन्दा राम्रो कुरा भनेको यो बाटो एकसाथ कठिन र रोमाञ्चक छ ।

बीचमा केही अफरोड वैकल्पिक मार्गहरु पनि छन् । यिनले तपाईंलाई चुनौतीका साथसाथै उत्तिकै मज्जा दिनेछन् । खरिपाटीमाथिको अधिकांश बाटो उकालो छ । हालैको बाटो विस्तार अभियानले गर्दा धेरै खाल्डाखुल्डी हुन सक्छन् ।

करिब दुई हजार एक सय ९५ मिटरमा रहेको यो सानो शहर काठमाडौंबाट करिब ३२ किलोमिटर टाढा पर्छ । अर्थात्, यहाँ पुगेर र्फकंदा तपाईंका साइकलका पांग्राले करिब ६५ किमि छिचोल्नेछन् ।

केही समय विश्रामका लागि छुट्याउने हो भने तपाईंलाई करिब चार घण्टा लाग्छ । बाटाको दायाँ-बायाँ प्रशस्तै चिया पसल छन् । बिहान सात बजेतिर घरबाट निस्किएर नगरकोटमा दालभात खाई एकछिन विश्राम गरेपछि ओरालो झर्नुभए पनि हुन्छ ।

२. नगरकोट-चाँगु-भक्तपुर

नगरकोट पुगिसकेपछि काठमाडौं र्झनका लागि विभिन्न बाटा छन् । त्यसमध्येको पहिलो विकल्प नगरकोटबाट तेलकोट हुँदै चाँगुनारायण मन्दिर क्षेत्र पुगेर भक्तपुर फर्किने पनि हुन सक्छ ।

यो यात्रामा तपाईंले पहिलो रुटभन्दा करिब १० किमि बढी यात्रा गर्नुपर्ने हुन्छ । अफरोड यात्राका पारखीका लागि यो एकदमै उपयुक्त मार्ग हो ।

यात्राका क्रममा तीन हजार वर्ष पुरानो मानिने, विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरको दर्शन गर्नुहोस् ।

नगरकोटबाट तेलकोट झरिसकेपछि तपाईंले अर्को बाटो अपनाउनुपर्ने हुन्छ । चाँगुनारायणबाट भक्तपुर आउन पनि दुई बाटा छन् । जुन बाटो आउनुभए पनि हुन्छ । पछि दुःख नपाइयोस् भन्नाका खातिर कुनै द्विविधा भयो भने स्थानीय बासिन्दालाई सोध्नुहोस् ।

३. नगरकोट-कात्तिके भञ्ज्याङ-शालीनदी-साँखु-काठमाडौं

साइकलमा चढेर ओराली झर्ने रहर छ भने तपाईंले यो बाटोको जस्तो मज्जा सायद् अन्त पाउनुहुनेछैन । बाटो साह्रै कच्ची र चुनौतीपूर्ण छ । तर, तल झरिसकेपछिको आनन्द पनि त्यत्तिकै छ ।

कात्तिके भञ्ज्याङसम्मको करिब नौ किमि ओरालो बाटो जंगलको बीचबाट पास हुन्छ । कात्तिकेको सानो गाउँबाट साँखुको पुरानो बजार क्षेत्रसम्म आइपुग्दा तपाईंले करिब आठ किमि पार गर्नुहुन्छ । ढुंगा छापेको ओरालो बाटोमा भने तपाईं थप सचेत बन्नुपर्ने हुन सक्छ ।

शाली नदीको पौराणिक महत्व तपाईंले बुझ्नुभएकै होला । यसबाहेक पनि नदी किनारको प्राचीन बस्तीको कला र समाजशास्त्र अध्ययन गर्ने रहर छ भने केही समय यतै विश्राम गर्नुहोस् ।

साँखुबाट काठमाडौंको भित्री क्षेत्र आइपुग्दा थप २३ किमि पार हुन्छ । समग्रमा तपाईंले ७० किमिभन्दा बढी यात्रा गर्नुहुनेछ ।

४. नगरकोट-कात्तिके भञ्ज्याङ-जर्सिङपौवा-साँखु-काठमाडौं (चार रुटमध्ये सबैभन्दा लामो)

चर्चा गरिएका चार रुटमध्ये सबैभन्दा लामो यही हो । यो बाटो पछ्याउनका लागि तेस्रो रुटलाई कात्तिकेमै छाडेर दाहिने मोडिनुपर्छ । करिब चार किमिको तेर्सो र त्यसपछिको उकालो पार गरेपछि जर्सिङपौवा पुगिन्छ ।

यसमा तपाईंको थप डेढ घण्टाजति खर्च हुन्छ । त्यहाँ निस्कँदा थाक्नुभयो भने चिया पसलमा बस्नुभए हुन्छ ।

जर्सिङपौवाबाट ओरालो झर्दा जङगलको बीचबाट पार हुने घुमाउरो बाटो छिचोल्नुपर्ने हुन्छ । लप्सेफेदी हुँदै साँखु बजार पुग्दा करिब साढे सात किमिको दूरी तय हुन्छ । समग्रमा यो यात्राको दूरी ७५ किमिभन्दा बढी नै हुन जान्छ ।

यदि तपाईं भर्खरै साइक्लिङ यात्रामा निस्कन थाल्नुभएको हो भने यी सबै बाटा पक्कै चुनौतीपूर्ण हुनेछन् । तर, साइक्लिङ यात्रालाई निरन्तरता दिने विचार गर्नुभएको छ भने तपाईंका लागि यो अवसर शिक्षाप्रद र उपलब्धिपूर्ण हुनेछ ।

बाटामा पर्याप्त ब्रेक लिनुहोस् । सौन्दर्यमा रमाउनुहोस् ।