माघ २९,काठमाडौं ।
नयाँ सरकार गठनअघिनै केही मदिरा उत्पादकहरुलाई अनुमतिपत्र र क्षमताबृद्धिको लाइसेन्स दिने चलखेल शुरु भएको छ । उद्योगमन्त्री सुनिलवहादुर थापाले सोमवार उद्योग प्रबर्द्धन बोर्डको बैठक बोलाउन सदस्य सचिव शंकर अर्याललाई निर्देशन दिएका छन् ।
आजै बस्ने बैठकमा बिबिध शीर्षकका एजेण्डामा मदिरा उद्योगहरुलाई अनुमति दिने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यसअघि लाइसेन्स पाएर पनि उत्पादन थाल्न नकसेकालाई पनि आथिर्क चलखेलकै आधारमा अनुमतिपत्र नवीकरण गर्न लागिएको स्रोतको दावी छ ।
यसबारेमा उद्योग सचिव यामकुमारी खतिवडालाई समेत जानकारी दिइएको छैन । नयाँ मदिरा उद्योग खोल्न र पुरानाको क्षमताबृद्धि गर्नका लागि यसअघिका मन्त्रीले पनि पटक पटक प्रयास गरेका थिए ।
यो निर्णय गराउँदा ठूलो मात्रामा आर्थिक चलखेल हुने गर्छ । जाँदा जाँदै मदिरा उद्योगहरुलाई लाइसेन्स दिन मन्त्री थापाले उद्योग विभागका महानिर्देशक शंकर अर्याललाई औद्योगिक प्रबर्द्धन बोर्डको बैठक राख्न दबाब दिइरहेका थिए ।
औद्योगिक प्रबर्द्धन बोर्डको अध्यक्ष उद्योग मन्त्री नै हुन्छन् ।
यसअघि २०६९ असोज २१ मा अनिलकुमार झा उद्योग मन्त्री हुँदा ३४ वटा मदिरा उद्योगको लाइसेन्स दिएका थिए ।