अमेरिकी खर्च विधेयकमा ट्रम्पले गरे हस्ताक्षर, विधेयकले कानुनी मान्यता पायो

२७ माघ २०७४, शनिबार ०३:०७

माघ २७, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । उनले शुक्रबार ट्वीट गरेर विधेयकमा हस्ताक्षर गरेको जानकारी दिएका छन् । ट्रम्पले हस्ताक्षर गरेसँगै विधेयकले कानुनी मान्यता पाएको छ ।

यसअघि सदनले विधेयक पारित गरेको थियो । त्यस लगत्तै खुसी व्यक्त गर्दै उनले ट्विट गर्दै अमेरिकी सेना र जागिरेका लागि उत्सावर्द्धक भनेका छन् ।


सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटिक पार्टीको सहमतिमा खर्च विधेयक ल्याइएको थियो । सदनमा विधेयकको पक्षमा २४० र विपक्षमा १८६ मत परेको थियो ।

यसअघि ट्रम्पको आप्रवासन नीतिको विरोध गर्दै डेमोक्रेट सांसदहरुले विधेयक पास गर्न नदिँदा खर्च गर्ने बाटो बन्द भएको थियो ।

जसका कारण तीन हप्ताको बीचमा दुई पटक सरकारी कामकाज ठप्प भएको थियो । सबै सरकारी कर्मचारीहरुलाई बे-तलवी विदा दिनुपरेको थियो ।

तर हालै आप्रवासन नीति सच्याउने सर्तमा डेमोक्रेट सांसदहरुले खर्च गर्ने बाटो खोलिदिएका छन् । त्यसलगत्तै रक्षा र आन्तरिक सेवाहरुमा खर्चको सीमा बढाइएर प्याकेज ल्याइएको छ ।