अनौठो चोरी ! रातारात चोरीयो ८ सय मिटर सडक

२२ माघ २०७४, सोमबार १०:४७

माघ २२, काठमाडौं । एजेन्सी

सडकमा गुड्ने गाडी चोरी भएको त सुनिएकै हो । तर चीनमा भने सडक नै चोरी भएको छ ।

पूर्वी चीनको जिनाग्सु क्षेत्रस्थित सानकेशू गाउँमा गत जनवरी २४ मा ८ सय मिटर लामो सडक चोरी भएको हो ।


उक्त क्षेत्रमा चोरले रातारात ८ सय मिटर लामो कंक्रिटको सडक चोरेको रिपोर्ट पुलिसमा गरिएसँगै त्यो चर्चाको विषय बनेको छ ।

स्थानीय मानिसहरुले चोरले सडक खनिरहेको पनि देखेका थिए । तर त्यो चोर भन्ने उनीहरुलाई हेक्का भएन । सडक मर्मत गर्नका लागि कामदारले सडक खनिरहेको होला भन्ने लाग्यो । तर जब पूरै सडकको पिच नै उप्काएर गायब पारियो तब मानिसहरु सडक चोरी भएको थाहा पाए र पुलिसमा उजुरी गरे ।

पुलिस घटनास्थलमा पुगेर छानविन सुरु गर्यो । अन्ततः सडक चोरी गर्ने झू नामका व्यक्तिलाई पक्राउ गर्न सफल भयो ।

झूले सडकको पिच खन्नका लागि एकजना कामदार तथा खनेको पिच उठाउनका लागि एक ट्रक समेत ल्याएका रहेछन् । सडकको पिच चोरेर ढुंगे सामाग्री बनाउने एक कारखानामा लगेर बेचेका रहेछन् ।

समाचार अनुसार झू ले गरिबीका कारण त्यस्तो गरेका रहेछन् । पक्की सडक खनेर त्यसको कंक्रिट बेच्न सकेमा राम्रो आम्दानी हुने ठानी उनले गाउँके सडक नै चोरी गरे । उनले सडकको पिच कंक्रिट कारखानामा बेचेर झण्डै ५ हजार युआन कमाई गर्न समेत सफल भए ।

सायद अहिलेसम्म यस्तो खालको चोरी दुनियामा कहिँ पनि भएको थिएन । चोरीको त्यो नौलो तरिकाका विषयमा सोसल मिडियामा अनेक खालका प्रतिक्रियाहरु आइरहेका छन् ।