५६ करोड बोनस बाँड्न आयल निगमले छुट्यायो

१० माघ २०७४, बुधबार ११:१५

माघ १०, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर गत आर्थिक वर्ष २०७३/७४मा ९ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसबाट निगमले कर्मचारीलाई वितरण गर्न थप करिब ५६ करोड रुपैयाँ बोनसका छुट्याएको छ । अब निगममा बाँड्न बाँकी बोनस रकम झण्डै ३ अर्ब रूपैयाँ पुगेको छ ।

तर, आयल निगम तत्कालै छुट्याइएको कुनै बोनस रकम बाँड्ने पक्षमा छैन । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई तत्काल कुनै पनि बोनस नबाँडिने बताउँछन् ।

संस्था समस्यामा हुँदा–हुँदै ठूलो रकम बोनसका रुपमा बुझ्न लागेको भन्दै तीव्र आलोचाना भएपछि निगमका कर्मचारीले विगत ३ वर्षदेखि यस्तो रकम लिएका छैनन् ।

‘हामीलाई सरकारको निर्देशन नै बोनस नबाँड्नू भन्ने छ । त्यसैले सरकारी स्रेस्ता प्रणालीअनुसार बोनसका लागि उल्लेख हुनुपर्ने रकम कायम मात्रै गरिएको हो,’ कार्यकारी भट्टराई भन्छन्,’ स्पष्ट रूपमा भन्छौं, यसको वितरण तत्काल गरिँदैन ।’

लामो समय घाटामा रहेको ३ वर्षदेखि आयल निगम निरन्तर नाफामा छ । आयल निगमले बोनस बापतको रकम बोनस ऐन र आफ्नो विनियमावलीअनुसार नै छुट्याइएको दावी गर्ने गरेको छ ।

यो वर्ष नयाँ बोनस ऐन आएकाले अर्को वर्षबाट नयाँ नियमअनुसार नै बोनस छुट्याइने निगमका एक लेखा अधिकारी बताउँछन् । निगमले गत वर्ष पनि झण्डै १ अर्ब १४ करोड र त्यसभन्दा अघिल्लो वर्ष ९० करोड रुपैयाँ रकम बोनसका रुपमा छुट्याइएको थियो ।


आय कर पनि तिर्यो

कुल ४७ अर्ब नाफा गरेको निगमले सरकारलाई ४ अर्ब ३ करोड रुपैयाँ आय कर पनि भुक्तानी गरेको छ । पूर्वाधारका लागि निगमले ९ अर्ब ४३ करोड रुपैयाँ छुट्याएको छ । खुद साढे ९ अर्ब रुपैयाँ नाफाबाट निगमले झण्डै ५७ करोड रुपैयाँ बोनसका लागि छुट्याएको हो ।

आपूर्ति र अर्थ मन्त्रालयले पेट्रोलियम भण्डारणका थप पूर्वाधारहरु तयार नगरी बोनस नबाँड्न भनेको छ । निगम पनि त्यो निर्देशन नकारेर बोनस वितरणमा जाने सुरमा छैन ।

जग्गा खरिदका क्रममा घोटाला भएको भन्दै निगमका उच्च अधिकारीहरु अनुसन्धानको घेरामा छन् । त्यसैकारण पनि निगमका अधिकारी थप आलोचित हुनुपर्ने र अख्तियारमै जवाफ दिनुपर्ने भन्दै बोनस नबाँड्ने पक्षमा उभिएका हुन् । नियमअनुसार भन्दै बोनस भने छुट्याएर राखिएको छ

बोनसको रकम नबाँडिएपछि पछिल्लो समय आयल निगमले घाटामा जाँदा पनि सरकारसँग ऋण माग्न छाडेको छ । बोनसको रकम नै परिचालित गर्न पाउँदा उसले आफ्नो भुक्तानी सयममै गर्न सकेको भट्टराई बताउँछन् ।

निगममा अहिले करार र ज्यालादारीमा थुप्रै कर्मचारी भर्ति भएका छन् ।