सवारी साधनमुक्त असन

२ माघ २०७४, मंगलवार १०:२५

मन्जिल कन्दङ्वा

माघ २, काठमाडौं ।

काठमाडौंको असनसहित भित्री शहरलाई मंगलबारबाट चार पाङग्रे सवारी साधन मुक्त गरिएको छ ।

काठमाडौंका मुख्य भित्री शहरहरुमा आजदेखि चारपांग्रे र ठूला सवारी प्रवेश निषेध गरिएको छ । कतिपय सडकहरुमा वान–वे सिस्टम लागू भएको छ ।
आजबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।

  • नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ ।
  • टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ ।
  • क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेध भएको हो । दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले  भने, ‘अहिले असनका ठाउँठाउँमा ट्राफिक संकेतयुक्त बोर्डहरु राख्ने काम भइरहेको छ । यो सकिनासाथ आजैदेखि चारपांग्रे निषेध हुन्छ । ’काठमाडौं महानगरपालिकाको वडा कार्यालयले ट्राफिक संकेत अंकित साइनबोर्डहरु ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ । आजै बिहानैदेखि निषेधित क्षेत्र कार्यान्वयन गर्ने तयारी भए पनि बोर्ड राख्न ढिलाइ भएकाले केही घण्टा ढिला कार्यान्वयन हुने छ ।”

यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको छ ।

 

( स्रोत–अनलाइनखबर )