विद्युतको समस्या लिएर कुलमानलाई भेट्न पुगिन विना

१० माघ २०७४, बुधबार ०८:५१

माघ १०, काठमाडौं ।

कञ्चनपुरको विद्युत समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग सरोकारवालाहरुले माग गरेका छन् ।

जिल्लाबाट निर्वाचित सांसद बिना मगरको नेतृत्वमा काठमाडौं आएको टोलीले प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई माग पत्र पेश गर्दै विद्युत समस्या समाधान गरिदिन माग गरेका हुन् ।

महानिर्देशक घिसिङको कार्यकक्षमा टोलीले बिभिन्न ६ बुँदे मागपत्र पेश गरेको हो ।

ज्ञापन पत्रमा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा विद्युत सेवाको बिस्तार भएपनि गुणस्तरीय सेवा प्रवाह हुन नसक्दा स्थानीय जनताले समस्या भोग्नु परेको समस्या हल गर्न अनुरोध गरिएको छ ।

जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेल्डाँडी गाउँपालिकामा सब(स्टेशनको अभाव, ट्रान्सफर्मर जडान हुन नसक्न, अनियमित विद्युत आपूर्ति तथा न्यून भोल्टेजको समस्याले गर्दा घरायसी, कृषि प्रयोजन तथा उद्योगहरुमा गुणस्तरीय विद्युत सेवा उपयोग गर्न नसकिएको भन्दै ज्ञापन पत्रमा कृषि, काष्ठ, डिष्टिलरी, स्वास्थ्यलगायतका सेवा र उद्योगहरु सञ्चालनमा कठिनाई देखिएले भोल्टेज लगायतका समस्या हल गर्न माग गरिएको छ ।

यस्तै, मागपत्रमा चारवटै स्थानीय तहका ४० हजार बढी घरधुरीले विद्युत महसुल सेवा बेलौरीमा रहेको एउटा मात्रै काउण्टरबाट बुझाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै चारवटै स्थानीय तहमा महसुल काउण्टर स्थापना गर्न माग गरिएको छ ।


यसैबीच, महानिर्देशक घिसिङको निर्देशन

मागपत्र बुझेपछि महानिर्देशक कुलमान घिसिङले बैठकस्थलबाटै प्रदेश नम्बर ७ को क्षेत्रीय निर्देशनालय अतरियाका प्रमुख तारा शर्मालाई फोन गरी तत्काल समस्या समाधानका लागि निर्देशन दिएका छन् ।

चारवटै स्थानीय तहमा काउण्टर स्थापना गर्न पहल गर्ने, तत्कालका बेल्डाँडी, पुनर्वास र लालझाडीमा घुम्ती महसुल काउण्टर सञ्चालन गर्ने, भोल्टेजको समस्या हल गर्न आवश्यकता अनुसार तत्काल नै ट्रान्सफर्मर जडान गर्ने, दीर्घकालिनरुपमा चारवटै स्थनीय तहलाई पायक पर्ने स्थानमा सब स्टेशन स्थापनाका लागि प्रस्ताव तयार गर्ने, उक्त क्षेत्रका सबै लाइनलाई थ्री फेजमा अपग्रेड गर्ने काम अगाडि बढाउन महानिर्देशक घिसिङले निर्देशन दिए ।

सब स्टेशनलगायतका सबै कामहरु यसै चैत मसान्तभित्र नै पूरा गर्न उनले निर्देशन दिएका छन् ।