राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक

२७ पुष २०७४, बिहीबार ०४:३८

पुस २७, काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।


आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि माघ ७ गते मतदाता नामवाली प्रकाशन गर्ने कार्यक्रम छ । राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहअन्र्तगतका गाउँपालिका प्रमुख, उपाध्यक्ष तथा नगरपालिका प्रमुख, उपप्रमुख एवम् प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुख गरी १५ सय ६ जना र प्रदेशसभा ५ सय ५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते मतदाता नामावली उपर दावीविरोधको उजुरी दिन सकिनेछ । मतदाता नामावलीमा परेका उजुरीउपर सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयले छानविन गरी माघ ९ गते अन्तिम नामावली प्रकाशित गर्नेछ । आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिनेको उम्मेद्वारी दर्ताका लागि माघ १० गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकेको छ । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेद्वारको सूची प्रकाशन गर्नेछ ।

 

उम्मेद्वारको विरोधमा माघ ११ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ । निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर छानविन गरेपछि कायम रहेका उम्मेद्वारको नामावली १४ गते प्रकाशन गर्नेछ । सोही दिन उम्मेद्वारी फिर्ता लिन समेत समय तोकिएको छ । माघ १५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएपछि सोही दिन उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता ढकालले बताए । त्यसपछि २४ गते विहान १० बजे देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख,उपप्रमुख र प्रदेश सदस्यले तोकेको मतदान केन्द्रमा गई मतदान गर्नेछन् । मतदान सम्पन्न भएर सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृत कार्यालयमा प्राप्त भएपछि सोही दिन अपरान्ह ४ बजेपछि मतगणना कार्य सुरु गरिने कार्यतालिकामा उल्लेख छ । –नागरिक दैनिक