राजधानी माग्दै सांसद नै धर्नामा

९ माघ २०७४, मंगलवार ०८:२१

माघ ९, काठमाडौं ।

प्रदेश नं. ७ को राजधानी माग गर्दै दिपायलमा सांसद नै आन्दोलनमा उत्रिएका छन् ।

सरकारले माघ ३ गते तोकेको प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढीमा आइतवार शपथग्रहण गरी सोमबार गृहजिल्ला डोटी पुगेका सांसद त्रिलोचन भट्ट आफै मंगलबार धर्ना बसेका छन् ।


भट्ट मंगलबार दिउँसो १२ बजेदेखि अन्य आन्दोलनकारीहरुसँगै क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि धर्ना बसेका हुन ।


प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग राख्दै पुस १२ गतेदेखि जारी आन्दोलनमा सांसद भट्ट मंगलबार आन्दोलनमा सहभागी भएका छन् ।

सरकारले अस्थायी मुकाम धनगढी तोके लगत्तै भट्टले यस अघिनै एक विज्ञप्ती जारी गरेका थिए ।

आन्दोलन संयोजन समितिले तय गरेको क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम अन्तरगत सांसद भट्ट क्षेत्रीय प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।