मिस्टर झोलेको २ दिनमै १ करोड १० लाख कमाई

२ माघ २०७४, मंगलवार ०६:०३

माघ २, काठमाडौं । गत शुक्रबारबाट रिलिजमा आएको फिल्म मिस्टर झोलेले २ दिनमा १ करोड १० लाखको कमाइ गरेको छ। फिल्मका सहनिर्माता तथा रंगकर्मी मणिराम पोखरेलका अनुसार मिस्टर झोलेले गत शुक्रबार र शनिबार गरी २ दिनमा १ करोड १० लाख रुपियाँ नेट कलेक्सन गरेको छ। उनका अनुसार फिल्मले २ दिनमा काठमाडौं उपत्यकाभित्र ७० लाख र उपत्यकाबाहिर ४० लाख रुपियाँ कलेक्सन गरेको छ।

कबड्डी, कबड्डी कबड्डी र पुरानो डुंगाजस्ता फिल्मका निर्देशक रामबाबु गुरुङले यस फिल्मबाट अघिल्ला फिल्मभन्दा फरक ढंगको प्रतिक्रिया पाएका छन्। टेकेन खड्का तथा सिनेमा आर्टको प्रोडक्सनमा बनेको फिल्म मिस्टर झोलेको कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन्। फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, सरोज अर्याल, दिया पुन, वर्षा राउत, अरुणा कार्की, लक्ष्मी बर्देवा, निरू खड्कालगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्। शैलेन्द्रध्वज कार्कीले छायांकन गरेको फिल्ममा पाश्र्व संगीत रोहित शाक्य, पाश्र्व ध्वनि उत्तम न्यौपाने तथा सम्पादन निमेश श्रेष्ठको रहेको छ।