प्रहरी नेतृत्वबाट ज्यान लिने प्रयास भएको सिलवालको आरोप (हेर्नुस् प्रेस विज्ञप्ति)

११ माघ २०७४, बिहीबार ०७:५६

माघ ११, काठमाडौं ।

ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् ।

सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् ।


सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् ।

उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।


सिलवालले विज्ञप्तिमा भनेका छन्– जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ, त्यसको अन्त्य हुनुपर्दछ र निश्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्‍याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।

उनले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।

सिलवालले आफूविरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौं प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको आरोप लगाएका छन् । ‘यो फेहरिस्तले पनि यस्तो गैरकानुनी कार्यमा को–को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन’ उनले भनेका छन् ।

निर्वाचनमा जनमत गुमाएको कामचलाउ सरकारले जसरी पनि आफू सत्ताबाट बाहिरनुअघि नै आफ्नो करिअर समाप्त पार्ने र बदनाम गर्ने अधैर्य व्यवहार देखाएको आरोप उनले लगाएका छन् ।

पूर्वडीआइजी सिलवालले आफू जुनसुकै बेला अनुसन्धानमा सघाउन तयार भए पनि अहिलेको सरकारबाट आफू असुरक्षित भएकाले नयाँ सरकार आउनासाथ अनुसन्धान प्रक्रियामा सहभागी हुने बताएका छन्