दुई कोरियाबीचको उच्चस्तरीय वार्ता भारत र चीनद्वारा स्वागत

२८ पुष २०७४, शुक्रबार ०६:१९

पुस २८, काठमाडौं । दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् ।

 

कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन् ।   भारतले कोरिया प्रायद्वीपको स्थिरता, शान्ति, संवृद्धि र मेलमिलापका लागि सहयोग गर्न तयार रहेको बिहीबार जनाएको छ । नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विदेश मामिला मन्त्रालयका प्रवक्ता रभिश कुमारले वार्ताबाटै आपसी विवाद र द्वन्द्वको अन्त्य गर्न दुई देश सफल हुने विश्वास व्यक्त गरे ।  त्यसैगरी चीनले पनि वार्ताबाटै उत्तर कोरिया र दक्षिण कोरियाले ठिक बाटो पत्ता लगाउनु पर्नेमा जोड दिएको छ । कोरियाली प्रायद्वीपमा शान्ति र सद्भाव स्थापना गर्न उच्चस्तरमा भएको वार्तालाई अत्यन्त सकारात्मक रुपमा लिइएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङले बताए।

 

हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरे।  उनले वार्ताबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहाद्रपूर्ण सम्बन्ध बनाउन दुवै देशलाई सुझाव दिए । मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने जनाएको छ । छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि वार्तामा प्रसंग उठेको बताइएको छ । तर यस विषयमा कुनै सहमति हुने वा केही एजेण्डा पास हुने काम भने भएको छैन ।  बिगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गलबार पहिलो पटक उच्चस्तरमा औपचारिक वार्ता भएको हो ।  दुई वर्षपछि भएको भएपनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ ।