जबरजस्ती गर्न खोजेपछि इँटाले टाउकोमा प्रहार ः रीताको बयान

५ माघ २०७४, शुक्रबार ०६:२०

माघ ५, काठमाडौं ।

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ब्रह्मायणी मन्दिर परिसरमा मृत भेटिएका व्यापारीको मृत्यु एक महिलाको इँटा प्रहारबाट भएको खुलेको छ ।

तर, इँटा हान्नुको कारण भने आत्मरक्षा देखिएको छ ।

स्थानीय माटो व्यवसायी ५५ वर्षीय सिताराम सैंजुको शव बुधबार बिहान मन्दिर परिसरमा भेटिएको थियो । हत्या भएको आशंकामा अनुसन्धान थालेको प्रहरीले रीता राई र मन्दिरका पाले ७० वर्षीय रामबाबु लामालाईे हो ।

रीताले आफूलाई बलात्कार गर्न खोजेपछि प्रतिकारका क्रममा इँटाले हानेको बयान दिएकी छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार सैंजुको मृत्यु इँटा प्रहारबाट भएको खुलेको छ ।


घटनाको पृष्ठभूमी

सैंजु अरु दिनमा झै मंगलबार साँझ पनि मदिरा पिएर ब्रह्मायणी मन्दिर पुगेका थिए । ओखलढुंगा घर भएकी ३० वर्षीय रीता राईलाई जिस्काए । आफूलाई जबरजस्ती गर्न खोजेपछि इँटाले टाउकोमा प्रहार गरेको रीताको बयान छ ।

यो दृश्य मन्दिरका पाले लामाले पनि देखेका रहेछन् । तर, सैंजु गम्भीर घाइते भएको थाहा पाएनन् । ‘लामाले राति सैंजुको रगत पानीले पखालिदिएको समेत बयान दिएका छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।