काठमाडौं–तराई जोड्ने द्रुतमार्ग ४ वर्षमा निर्माण पूरा हुने सेनाको प्रतिबद्धता

२ माघ २०७४, मंगलवार १४:५७

माघ २, काठमाडौं । तराई जोड्ने द्रुतमार्गको निर्माण कार्य तीव्र रुपमा अघि बढेको नेपाली सेनाले जनाएको छ । सेनाले मंगलबार पत्रकार सम्मेलन गरी सरकारले निर्माण कार्य जिम्मा लिएयताको प्रगति विवरण सार्वजनिक गर्दै तोकिएको ४ वर्षमा निर्माण पूरा हुने प्रतिबद्धता जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथि सूर्यप्रसाद खनालले सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गर्न तीव्र गतिमा अघि बढेको जानकारी दिए । आवश्यक स्रोतसाधन सम्बन्धित क्षेत्रमा पुर्याइसकेको भन्दै उनले ५ स्थानमा क्याम्प स्थापना गरी काम सुरु गरेको बताए । उनका अनुसार आयोजनामा पर्ने सामुदायिक वनका रुख काट्नेदेखि पहिले खुलाइएको पाइलट रुटको पहिरो पन्छाउने काम जारी छ ।  कुल ७६।२ किलोमिटरमध्ये ललितपुरमा ७।९ कलोमिटर, काठमाडौंमा ४ किलोमिटर, मकवानपुरमा ५६।९ किलोमिटर तथा बारामा ७।६ किलोमिटर पर्छ । “समयमै आयोजना सम्पन्न गर्न हामीले रातदिन काम गरिरहेका छौं । सरकारले दिएको जिम्मेवारी पूरा गर्न गम्भीर छौं,” सहायक रथी खनालले भने, “हामीबाट हुन नसक्ने काम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई जिम्मा दिनेछौं, त्यो कार्य पनि अघि बढेको छ ।” उनका अनुसार आयोजनामा साना¬–ठूला गरी ९९ स्थानमा पुलपुलेसा बनाउनु पर्ने हुन्छ । त्यसैगरी १।३७ किलोमिटर सुरुङमार्ग बनाउनुपर्छ ।

 

एडीबीले गरेको सम्भाव्यता अध्यनका आधारमा सेनाले काम अघि बढाएको र डीपीआर बनाउने काम तत्काल थाल्ने पनि पत्रकार सम्मेलनमा सेनाले जानकारी दियो । आयोजनामा पर्ने सर्वसाधारणका घरजग्गाको मुआब्जा दिने काम पनि धमाधम भइरहेको सेनाले जनाएको छ ।  तत्कालीन अवस्थामा एडीबीले तयार पारेको अध्ययनअनुसार द्रुतमार्ग निर्माणमा १।१२ खर्ब रुपैयाँ लाग्ने उल्लेख भए पनि अहिलेको बजार भाउले त्यतिमा काम नसकिने सेनाले बताएको छ ।