कर्णालीमा राजधानी माग्दै गरिएको आन्दोलन स्थगित

२४ पुष २०७४, सोमबार १४:०७

देवी कृष्ण अधिकारी
पुस २४, जुम्ला । ६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग गर्दै एक साता देखि शुरु भएको आन्दोलन केहि दिनका लागि रोकिएको छ । सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने निर्णय गरिसकेकोले ६ नम्वर प्रदेश सभा सदस्यहरु संग अनौपचारीक रुपमा वकालत गर्ने निर्णय सहित आन्दोलन स्थगित भएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले जानकारी दिए ।


जुम्लामा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज जुम्लाले अब आन्दोलनका कार्यक्रम राजधानी केन्द्रित हुने जनाएको छ । प्रेस विज्ञप्तीमा नागरिक समाज जुम्लाले कर्णालीका पक्षमा थालिएको आन्दोलनका क्रममा साथ सहयोग दिने सवैलाई धन्यावाद ज्ञापन उल्लेख गरेको छ ।  बहुमतिय आधारमा कर्णालीमा राजधानी नगर्ने षडयन्त्र भएमा आन्दोलन जतिखेर पनि शुरु हुन सक्ने सचिव शाहीले वताए । उनले भने, कर्णाली आन्दोलनलाई निष्कर्षमा पु¥याउनका लागि सवैको साथ सहयोग रहने अपेक्षा गरिएको छ । कर्णालीमा राजधानी हुनु पर्ने मागका पक्षमा वकालत गर्न सवै सरोकारवाला निकायलाई अपिल गरिएको छ । पिछडिएको क्षेत्रको वैज्ञानिक रुपमा संवोधन गर्नका लागि भुगोलको आधारमा निर्वाचन क्षेत्र थप्न समेत माग गरिएको छ ।

यसअघि जुम्लामा विरोध प्रदर्शन, राँके जुलुस, सिट्ठी जुलुस, मोटरसाईकल ¥याली लगायतका दवाव मुलक कार्यक्रम भईसकेका छन् । कर्णालीवासीलाई विभिन्न बाहानामा सदियौ देखिको केन्द्रियताले गरेको उत्पिडनले पछाडी परेको स्मरण गर्दै नेपालको परिवर्तनमा पछिल्लो समयमा संघियतामा कर्णालीलाई प्रादेशिक संरचनामा समेत उत्पिडनमा पार्ने षडयन्त्र भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।