कञ्चनपुरमा पहिलो पटक खाद्य मेला शुरु

२८ पुष २०७४, शुक्रबार ०६:३६

पुष्कर भट्ट
पुस २८, कञ्चनपुर ।
७ नम्बर प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक खाद्य मेला शुरु भएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा बिहीबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा खाद्य मेला २०७४ शुरु भएको हो । मेलाको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले उद्घाटन गर्नुभयो । मेला उद्घाटन गर्दै क्षेत्रीय प्रशासक पौडेलले खाद्य मेलाबाट परम्परागत खाद्य परिवारको प्रर्बद्धन गर्नुपर्नेमा जोडदिए । परम्परागत खाद्य परिकारलाई व्यवसायिकरणमा गर्नु समेत सुझाव दिए ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख उपेन्द्र रायले परम्परागत पोषिला खाने परिवारको प्रर्बद्धनका लागि मेला आयोजना गरिएको बताए । होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले पहिलो पटक हुन लागेको मेलाले स्थानीय व्यवसायी, उपभोक्तालाई लाभदाय हुने बताए ।

होटेल व्यवसायी संघ कञ्चनपुरको सहयोगमा मेला २ दिन थप भएको भन्दै कञ्चनपुरका होटेल व्यवसायीले मेला सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने बताए । मेलामा सुदूरपश्चिमेली पहाडी थारु समुदायको मौलिक खाद्य मकै, कोदो, फाफर, च्याउ, घोगि,माछा लगायतका विभिन्न खाने परिकार राखिएका छन् ।