एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै

२५ पुष २०७४, मंगलवार ०५:०१

पुस २५, काठमाडौं । वाम गठबन्धन दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकताको विषयमा आजबाट एकता संयोजन समिति स्तरीय बैठकमा जुट्दै छन् । पार्टी एकता गर्ने घोषणा गरेका दुई दलद्वारा गठित पार्टी एकता संयोजन समितिको बैठक निर्वाचनपछि पहिलोपटक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे बालकोटमा बस्ने तयारी छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ भएको सहमतिअनुसार लामो समयपछि समितिको बैठक बस्न लागेको हो । दुई दलद्वारा गठित समितिको बैठकअघि सोमबार दुवै दलले आआफ्नो पार्टीभित्र पार्टी एकताको खाकाका विषयमा छलफल गरेका थिए । पार्टी एकता संयोजन समितिको बैठकमा संगठनात्मक संरचना तयसम्बन्धी र विचार सिद्धान्तलाई समेटेर नीति मस्यौदालगायतको विषयमा छलफल हुनेछ ।

दुईवटा कार्यदल गठन गरेर जाने निर्णय भइसकेको छ । एमाले सचिव प्रदीप ज्ञवालीले एकता प्रक्रिया निक्कै अघि बढिसकेको जानकार दिए । उनले एकता संयोजन समितिको बैठकबाट त्यसलाई अनुमोदन गरेर प्रक्रियालाई झनै अघि बढाइने जानकारी दिए । नेतृत्व, विचार, सिद्धान्तलगायतका विषय अझै मिल्न बाँकी छ । नेतृत्व बाँडफाँटका विषयमा दुई अध्यक्षबीच छलफल जारी छ । माओवादीले एमालेले प्रधानमन्त्रीको नेतृत्व गरेमा पार्टी अध्यक्ष आफ्नो पार्टीको नेतृत्वमा हुनुपर्ने माग गर्दै आएको छ ।