एमालेले चुनावबाट मुख्यमन्त्री छान्ने

१६ माघ २०७४, मंगलवार ०८:२५

माघ १६ , काठमाडौं ।

नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने भएको छ ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’

वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् ।प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता भइसकेका छन् तर, अन्य प्रदेशमा टुंगो लागेको छैन ।

प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा दुई प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।

यद्यपि एमालेले दलको नेता भने त्यहाँ पनि छान्ने छ । प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने ३ मा उपाध्यक्ष अष्टलग्मी शाक्य प्रमुख दाबेदार हुन् तर, राजेन्द्र पाण्डेसिहतका नेताहरुले पनि लबिङ थालेका छन् ।

प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गर्दै आएका छन् ।

एमाले बैठकले राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई तत्कालै मतदानको बिधिबारे तालिम दिने निर्णय समेत गरेको छ ।