इरानबारे आपत्‌कालीन बैठक डाक्न माग

१९ पुष २०७४, बुधबार ०३:०६

पुस १९, काठमाडौं । इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्‌कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन्।

 

इरानका विरोध प्रर्दशनकारीको प्रशंसा गर्दै राजदूत हेलीले उनीहरुमाथि तेहरानको व्यवहारको भर्त्सना गरिन्।  राजदूत हेलीले इरानमा शान्ति सुरक्षा र स्वतन्त्रताको परिक्षण भइरहेको बताइन्।  त्यहाँ लामो समयदेखि दबाइएका मानिसहरु उनीहरुका तानाशाह विरुद्ध उठेको वास्तविक दृष्य भन्दै राजदूत हेलीले राष्ट्र संघीय बडापत्रमा स्थापित स्वतन्त्रतामाथि इरानमा आक्रमण भइरहेको बताइन्।  सरकार विरोधी प्रदर्शन बारे छलफल गर्न अमेरिकाले राष्ट्र संघीय सुरक्षा परिषदलाई आग्रह गर्ने राजदूत हेलीले बताइन्।  उनले इरानको परिस्थितिबारे राष्ट्र संघीय मानव अधिकार परिषद जेनेभामा पनि कुरा उठाइने बताइन्।

 

उनले भनिन्, ‘सरकार विरुद्ध आवाज उठाउन ठूलो बहादुरी चाहिन्छ खासगरी विरोध गर्ने आफ्ना नागरिकको हत्या गर्ने लामो इतिहास बोकेको सरकार विरुद्ध त झन् चाहिन्छ। हामी इरानी जनताको साहसको प्रशंसा गर्छौं’  परिषदले शान्ति र सुरक्षामाथि अन्तर्राष्ट्रिय खतरामाथि छलफल गर्ने गर्छ तर अमेरिकाले चाहे जस्तो विषयमा परिषद सदस्यहरुबाट आवश्यक समर्थन प्राप्त होला कि नहोला भन्ने स्पष्ट छैन।  प्रदर्शन विदेशी तत्वको इशारामा भएको भन्ने तेहरानको दावीलाई अस्वीकार गर्दै हेलीले त्यसलाई हास्यास्पद भनिन् र विरोध स्वस्फूर्त रुपमा भइरहेको बताइन्। इरानमा सरकार विरोधी प्रदर्शन छैठौं दिन पुगेको छ।