आलोपालो सरकार हुँदैनः ज्ञवाली

१७ पुष २०७४, सोमबार ०५:५३

पुस १७, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले र माओवादीबीच आलोपालो सरकार गठन हुन नसक्ने बताएका छन् । सरकार गठनपछि मन्त्रीहरुको कार्यशैलीका आधारमा कार्यविभाजन हेरफेर भए पनि सरकार गठनमा आलोपालो नहुने उनले बताए ।

“आलोपालो भनेर एकता कसरी हुन्छ ? एउटै पार्टी भएपछि सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर होला,” उनले भने, “आलोपालो भन्नु एकताबाट भाग्न खोज्नु हो ।” उनले चुनावको मत परिणाम सार्वजनिक भएको यत्रो दिन वितिसक्दा पनि सरकारले कूर्चीमै रमिता देखाइरहेको आरोप लगाए । आईतबार सदरमुकम तम्घासमा प्रस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेताज्ञवालीले भने, “आफूलाई लोकतन्त्रवादी बताउँदै नेपाली काँग्रेस र सभापतिको नैतिकता देखियो । देउवाजी विभिन्न बहानाबाजी गरेर कुर्ची छाड्न चाहँदैनन् ।”

ज्ञवालले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधि बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए । निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढंगले काम गर्न समेत उनले आग्रह गरे । –कारोबार दैनिक