अवैध घरेलु मदिरा बरामद

२३ पुष २०७४, आईतवार ०६:०५

पुष्कर भट्ट

पुस २३, कञ्चनपुर ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरले कञ्चनपुरको एक सुकुमबासी बस्तीबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ सालघारी सुकुमबासी बस्तीबाट घरेलु मदिरा बरामद गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक जगदिश प्रशाद भट्टले सालघारीका विभिन्न घरबाट अवैध ६ सय ३० लिटर मदिरा बरामद गरिएको बताए ।

 

उनका अनुसार घरेलु मदिरा सहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, सामाग्री समेत बरामद गरिएका छन् । घरेलु अवैध महिराबाट समाजमा झै झगडा भै अपराधिक कृयाकलाप बढ्दै जाने भएकाले निरुत्साहित गर्न प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको छ ।

सुकुमबासीले घरेलु मदिरा उत्पादन गरेर दैनिक गुजारा चलाईरहेका छन् । प्रहरीले भने सुकुमबासीलाई आयको वैकल्पिक स्रोतको खोज गर्न सुझाव दिएको छ । बरामद गरिएको अवैध घरेलु मदिरा पत्रकार को उपस्थिती मा आजै नष्ट गरिएको छ ।

भीमदत्त र बेदकोट नगरपालिका वडा प्रहरीको कार्यक्षेत्र पर्ने स्थानमा अवैध मदिरा उत्पादन, बिक्रि वितरण एव कारोबारमा अभियानकै रुपमा पुर्ण रोक लगाईने वडा प्रहरी इन्चार्ज भट्टले बताए । अवैध घरेलु मदिराका कारण दोहोरो समस्या निम्तिएको भन्दै प्रहरीले बन्द गरेरै छाड्ने जनाएको छ । जुनसुकै बेलामा पनि अवैध घरेलु मदिरा बरामद गरेर कार्बाही प्रकृया अघि थाल्ने वडा प्रहरीले चेतावनी दिएको छ ।