मतपेटिका कुर्न राजनीतिक दलहरूको फरक फरक टोली

१५ मंसिर २०७४, शुक्रबार ०५:१४

मंसिर १५, काठमाडौं । गत आइतबार १० गते सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरूले फरक फरक टोली बनाएका छन्।

मतपेटिका सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ(आफ्ना ताला लगाएका दलहरूले बाहिरी घेरामा बसेर मतपेटिका कुर्न कार्यतालिका बनाएका छन्। दलहरूले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको कांग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए। दैनिक कुरुवा बस्ने क्रममा दलहरूले दिउसोको समयमा महिला र रातको समयमा पुरुष कार्यकर्तालाई खटाएका छन्।   महिलाहरूले आफूहरूले पनि मतपेटिका कुर्न पाउनु पर्ने आवाज उठाएपछि दिउँसोको समयमा महिलाहरूलाई कुर्न लगाइएको हो। ‘ताला समेत लगाएको स्थानमा प्रहरी कर्मचारी सबैले कुरिरहेका छन्’, कांग्रेस सचिव पौडेलले भने, ‘विश्वासको संकटका कारण दलहरूका प्रतिनिधि राखेर मतपेटिका कुर्नु परेको हो।’ पौडेलले सबै दलहरूले प्रतिनिधि राखेपछि कांग्रेसले पनि बाध्य भएर मतपेटिका कुर्न प्रतिनिधि खटाउनु परेको अन्नपूर्णपोष्टले लखेको छ ।

 

उता वाम गठबन्धनले ‘सत्ताको दुरुपयोग गरेर संस्थागत धाँधली गर्ने खतरा देखिएकाले’ मतपेटिका सुरक्षाका लागि ताला लगाएर कुरुवा राख्न बाध्य भएको दावी गरेको छ। गठबन्धनले बिहान बेलुकीका लागि पुरुष महिलाको छुट्टाछुट्टै सूची बनाएर सर्कुलर गरेको राष्ट्रिय जनमोर्चाका सदस्य थानेश्वर सुवेदीले बताए। मतपेटिका कुर्न गठबन्धन सम्बद्ध दलका सबै तहका संगठनहरूको सहभागिता गराउन खोजिएको सुवेदीले बताए।   निर्वाचन आयोगको अनुरोध अनुसार नै दलका नेता कार्यकर्ता राखेर मतपेटिका कुरिएको उनको भनाई छ। दलहरूमा आपसी सहमति र विश्वासको वातावरण रहे पनि निर्वाचनसँग जोडिएको विषय भएकाले कुर्नु परेको एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकको भनाई छ। दलहरूले मतपेटिका सुरक्षाका लागि छुट्टाछुट्टै ताला लगाएका छन्।

बागलुङ क्षेत्र नम्बर १ मा निर्वाचन आयोग सहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले ताला लगाएका छन् भने बागलुङ क्षेत्र नम्बर २ मा आयोग सहित माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन्।
मुख्य निर्वाचन अधिृकत प्रकाशप्रसाद पण्डितले दलको नेतृत्व र उम्मेदवारको चाहना अनुसार नै ताला लगाएर मतपेटिका भण्डारण गरिएको बताए। ‘निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सुरक्षा गरिरहेको छ, उहाँहरूको चाहना समेत भएकाले ताला लगाउन दिएका हौं’ पण्डितले भने, ‘चौविसै घण्टा उहाँहरूकै उपस्थितिमा कुरुवा पनि गरिएको हो।’ गत स्थानीय निर्वाचनमा ६८।७७ प्रतिशत मत खसेको बागलुङमा गत आइतवार भने ६५ प्रतिशत मात्र मत खसेको छ।