६८ नयाँ सांसदले पहिलो पटक संसदमा ‘डेब्यु’ गर्दै

२८ मंसिर २०७४, बिहीबार ०२:५०

मंसिर २८, काठमाडौं । राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रिय संसद् प्रतिनिधित्व गर्ने झण्डै आधा सांसद नयाँ चुनिएका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् ।

समानुपातिकतर्फ पनि यो पटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहो¥याई सूची बुझाएकाले संसद् नयाँ सांसदको बाहुल्य हुने करिव निश्चित छ । तर, समानुपातिकको संख्या भने यकिन भइसकेको छैन् । संसद्मा ‘डेब्यु’ गर्न लागेका केही अनुहार भने यसअघि निर्वाचनमा पराजित भएकासमेत छन् । निर्वाचित केही जनप्रतिनिधि भने पहिलो प्रयासमै केन्द्रिय संसद्मा स्थान पक्का गर्नेहरु छन् ।  ताप्लेजुङबाट निर्वाचित एमाले सचिव समेत रहेका योगेश भट्टराई पहिलो पटक केन्द्रीय संसद् प्रवेश गर्दै छन् । भट्टराईले तेस्रो प्रयासमा केन्द्रिय संसदको यात्रा निश्चित गरेका हुन् । मन्त्री भइसकेका एमाले भातृ संगठनका युथ फोर्सका पूर्व अध्यक्ष महेश बस्नेत पनि पहिलो पटक संसद्मा ‘डेब्यु’ गर्दै छन् । प्रहरी संगठनबाट फेरिएका दैनिकी लिएर पूर्व डीआइजी नवराज सिलवाल पनि केन्द्रीय सदस्य बनेका छन् ।

 

राष्ट्रिय राजनीतिमा परिचित अनुहार नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेल पनि पहिलो पटक केन्द्रीय संसद्को ग्यालरी बैठकको अनुभव लिदै छन् । पेसाले इन्जिनियार र निर्माण व्यवसायी रहेका माहेन आचार्यले रसुवाबाट आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका छन् । कांग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका राप्रपाका राजेन्द्र लिङ्देनलको संसद् यात्रा पहिलो नै हो । झापा ३ बाट निर्वाचित एमाले नेतृ पवित्र निरौलाका लागि पनि केन्द्रिय संसद् नयाँ अनुभव हो ।   माओवादी केन्द्रबाट भोजपुरबाट विजयी सुदन किराती पनि पहिलोपटक संसद्मा प्रवेश गर्दै छन् । काठमाडौं क्षेत्र नं. ३ का कृष्णबहादुर राई, मनाङका पाल्देन छोपाङ गुरुङ र नुवाकोटका हितबहादुर तामाङको संसदयात्रा पनि पहिलो अनुभव नै हुनेछ ।

 

खेल क्षेत्रमा परिचित नाम जीवनराम श्रेष्ठले पनि पहिलोपटक केन्द्रिय संसद्मा आफ्नो स्थान पक्का गरेका छन् । विद्यार्थी नेतृबाट राजनीतिमा होमिएकी बीना मगरले पनि कञ्चनपुर १ बाट केन्द्रय संसद्को यात्रा सुरक्षित गरेकी छिन् । यसअघि उनी थोरै मतान्तरले पराजित भएकी थिइन् । मोरङका घनश्याम खतिवडा, काभ्रेका गोकुल बाँस्कोटा, कञ्चनपुरका नरबहादुर धामीका लागि पनि संसद् यात्रा नै हो । बाजुराका गोपालबहादुर बम, बाजुराका लालबहादुर थापा, सुर्खेतका नवराज रावत पनि पहिलो पटक केन्द्रिय संसद् सदस्यमा निर्वाचित भएका हुन् । यस्तै सुर्खेतकै ध्रुवकुमार शाहीले पनि पहिलो पटक केन्द्रीय संसद्मा स्थान बनाएका हुन् ।
बाँकेबाट महेश्वरजंग गहतराज, दाङबाट हीराचन्द्र केसी, झापाबाट एल्पी साँवा लिम्बू पनि पहिलोपटक संघीय संसदको सदस्य बनेका छन् । सुनसरीका जयकुमार राई, सिरहाका लीलानाथ श्रेष्ठ, धनकुटाका राजेन्द्र कुमार राई, पनि पहिलो पटक संसद् प्रवेश गर्दै छन् । राजेन्द्र यसअघि २०७० मा राप्रपाका सुनिलबहादुर थापासंग पराजित भएका थिए । अहिले थापालाई नै पराजित गरी राईले संसद्मा आफ्नो स्थान पक्का गरेका छन् । नुवाकोटको प्रभावशाली नेता अर्जुननरसिंह केसीलाई पराजित गरी नारायण प्रसाद खतिवडा पनि पहिलो पटक केन्द्रिय संसद् सदस्य बनेका हुन् ।

 

पूर्व जनमूक्ति सेनाका कमाण्डर चन्द्रपाणि खनाल ‘बलदेव’ले पलिहोपटक संसद् यात्रा तय गरे । रुपन्देहीबाट प्रमोदकुमार यादव, नवलपरासी पूर्वबाट तिलबहादुर महत श्रेत्री, उदयपुरबाट सुरेशकुमार राई, दैलेखबाट रवीन्द्रराज शर्मा, अछामबाट यज्ञ बोगटी, बझाङबाट भैरव सिंह, काभ्रेबाट गंगाबहादुर तामाङले पनि केन्द्रिय संसद्को यात्रा निश्चित गरेका छन् ।  डा. सूर्यप्रसाद पाठक, जगतबहादुर विश्वकर्मा, भूपेन्द्रबहादुर थापा, कृष्णप्रसाद श्रेष्ठ, केदार सिग्देलले पनि पहिलो पटक केन्द्रीय संसदको यात्रा तय गरेको हो । श्रेष्ठले तनहुँमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन् । दाङबाट मेटमणि चौधरी, सप्तरीबाट डा. सूर्यनारायण यादव, जुम्लाबाट गजेन्द्रबहादुर महत पनि पहिलोपटक संसद् सदस्यमा निर्वाचित भएका हुन् ।यस्तै पर्वतका पदम गिरी, मुस्ताङबाट प्रेमप्रसाद तुलाचन, गोरखाका हरिराज अधिकारी, धादिङका भूमि त्रिपाठी, खेम लोहनीले पनि पहिलोपटक संसद्मा स्थान पक्का गरेका हुन् । पर्साबाट विमल श्रीवास्तव, सोलुखुम्बुबाट हेमकुमार राई, कञ्चनपुरबाट डा. दीपकप्रकाश भट्ट, कैलालीबाट रेशमलाल चौधरी, संखुवासभाबाट राजेन्द्र गौतम, कालीकोटबाट दुर्गाबहादुर रावत, रौतहटबाट देवप्रसाद तिमिल्सेना, धनुषबाट उमाशंकर अरगरिया, महोत्तरीबाट सुरेन्द्रकुमार यादवले पनि संसद्मा पहिलोपटक स्थान सुनिश्चित गरेका हुन् ।

 

बाराका रामबाबुकुमार यादव, पर्साका हरिनारायण रौनियार, पर्साबाटै प्रदीप यादव , बाराबाट एकवाल मियाँले पनि केन्द्रिय संसद् यात्रा निश्चित गरेका छन् । सर्लाहीबाट प्रमोद शाहले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गरेका हुन् । सिराहबाट लीलानाथ श्रेष्ठ, बाराका रामसहायप्रसाद यादवले पनि संसद्मा आफ्नो सिट सुरक्षित गरेका छन् । कैलालीबाट झपट रावल, स्याङजाबाट नारायण मरासिनी र ललितपुरबाट कृष्णलाल मर्हजनले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गरेका छन् । –गोरखापत्र