सिमरा उपमहानगरपालिका बजनीमा एक दम्पतीको बिभत्स हत्या

१६ मंसिर २०७४, शनिबार ०५:०२

मंसिर १६, सिमरा । बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनीमा एक दम्पतीको बिभत्स हत्या भएको छ । व्यवसायीक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको हत्या भएको हो ।

घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो । श्रीमतीको शव गाई फारमभित्र र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ ।  घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।  हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीको टोली बारा आएको छ । साथै चुनावको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुलाई पनि झिकाएर अनुसन्धान अघि बडाइएको बैदवारले बताए ।

 

सुवेदी दम्पती गाई फारममा र उनीहरुका छोराछोरी घरमै सुतेका थिए । बिहान गाईहरु धेरै कराएपछि हेर्न जाँदा शव फेला परेको स्थानीयबासीले बताएका छन् । उनीहरुको गाई फारम घरभन्दा करिब पाँच सय मिटर टाढा खेतको बीचमा एकान्तमा छ । हत्यापछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको पाइएको छ ।  सुवेदी दम्पतीको कसैसँग रिसिइबी नभएको घरका सदस्यहरु बताउँछन् । उनीहरु सहकारी संस्थाहरुमा बसेर सेवामुलक काममा सक्रिय थिए ।