संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने अध्यक्ष दाहालको भनाई

२८ मंसिर २०७४, बिहीबार ०८:५९

मंसिर २८ ,चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संतन्त्राघीय लोकतान्त्रिक गणक संत्मविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताएका छन्।

बिहिबार नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताएका हुन्। दाहालले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताए।

“वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो,” उनले भने । नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र कानूनी राज्यको पक्षमा दृढतापूर्वक उभिएको र आउने दिनमा अझ राम्रोसँग यी कुरा प्रमाणित हुने अध्यक्ष दाहालको दाबी थियो।

देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएको र जनताले त्यसलाई राम्रोसँग अनुमोदन गरेको दाहालको भनाई थियो। नेपाली जनताको आशा र अपेक्षाअनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डोर्याउने अध्यक्ष दाहालको भनाइ थियो ।

“सुशासन, भ्रष्टाचार महारोग भएको छ, यसलाई नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जनताको प्रमुख आकांक्षा हो, त्यो हामीले पूरा गर्छौ” उनले थपे, “स्थायित्व दिन्छौँ, सुशासन दिन्छौँ र आर्थिक समृद्धिततर्फ देशलाई लैजान्छौँ भन्ने कुरा जनतासँग संकल्प गरेका थियौं, यो नेपाली जनताले उत्साहजनक ढंगबाट अनुमोदन गरेका छन् ।”

निर्वाचनमा जनताले वाम गठबन्धनप्रति देखाएको समर्थन गठबन्धनका नेताको लागि ठूलो जिम्मेवारी भएको र जनताले सुम्पेको त्यो जिम्मेवारी गम्भीरताका साथ आत्मसात् गर्ने र जनअपेक्षाअनुसार आफूहरुलाई अग्निपरीक्षामा खरो उतार्ने उनले बताए।

वाम गठबन्धनलाई र निर्वाचनको यस विजयलाई संसारले ध्यानपूर्वक हेरेको उल्लेख गर्दै भने, “छिमेकीदेखि सिंगै अन्तरराष्ट्रिय समुदायको पनि यसतर्फ के होला भन्नेतिर गहिरो ध्यान छ, हामीले यसलाई गम्भीररुपमा लिएका छौँ ।”

चितवनको विकास र समृद्धिका लागि जनतासमक्ष प्रतिबद्धता गरेका विषयमा दृढतापूर्वक उभिने बताउँदै अध्यक्ष दाहालले वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने बताए।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले चितवनमा निर्वाचन लड्दा पहिलो पटक निर्वाचन लडेजस्तो महसुस भएको बताए । “यसअघि रोल्पा, काठमाडौँ, सिराहाबाट निर्वाचन लड्दा वास्तवमा चुनावै लडे जस्तो महसुस भएको थिएन,” उनले भने । अहिलेको निर्वाचनमा चितवनका जनतासँग नजिकबाट भावना बुझ्न कोसिस गरेको उहाँले बताए ।

“यसपटकको निर्वाचनमा सबै खाले तिता मिठा अनुभव गरेँ,” अध्यक्ष दाहालले भने चितवनमा आम सञ्चार प्रष्ठिान स्थापना गर्ने पत्रकारको चाहना आफूले बुझेको र प्रतिष्ठान स्थापना गर्नका लागि वाम गठबन्धनभित्रबाट र सरकारको तर्फबाट गर्नुपर्ने काममा आफ्नो पहल हुने उनले बताएको राससले समाचार लेखेको छ ।