शृंखलावद्ध बम विस्फोट हुन थालेपछि सशक्त सुरक्षामा लाग्न सेनालाई निर्देशन

१५ मंसिर २०७४, शुक्रबार ०१:११

मंसिर १५, काठमाडौं । नेपाली सेनाले आसन्न प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सशक्त भएर लाग्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

शीर्ष नेता, उम्मेद्वार र चुनावी सभा लक्षित शृखंलाबद्ध विस्फोट हुन थालेपछि सेनाले यस्तो निर्देशन दिएको हो । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन सचेतपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बिहीबार मातहतका निकायलाई निर्देशन दिएका हुन् । निर्वाचनमा संवेदनशील क्षेत्र मानिएका तराईका जिल्लाको स्थलगत निरिक्षणपछि प्रधानसेनापति क्षेत्रीले यस्तो निर्देशन दिएका हुन् ।

२१ मंसिरमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनको सुरक्षार्थ सिराहा, धनुषा, रौतहट र बारा जिल्लामा खडा गरिउका सुरक्षा क्याम्पहरुको निरिक्षण गर्दै उनले सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउने कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
निर्वाचनमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसँगै ६४ हजार नेपाली सेना खटिएका छन् । सेनाले तेस्रो घेरामा सुरक्षा दिदैँ आएको छ । सेनाले विशेष गरी तराईमा सीमापारीबाट हुने आपराधिक क्रियाकलापलाई रोक्ने गरी सीमा सुरक्षा क्याम्पहरु निर्माण गरेको छ । प्रधानसेनापति क्षेत्रीले काठमाडौं–तराई द्रुतमार्ग निर्माण कार्यदल गणको मकवानपुरको दोभान र बाराको निजगढस्थित नवनिर्मित बेसक्याम्पको उद्घाटन गरेका छन् । – सौर्य दैनिक