राष्ट्रियसभापछि मात्रै प्रतिनिधिसभाको समानुपातिक

१५ पुष २०७४, शनिबार ०२:४८

पुस १५, काठमाडौं । निर्वाचन आयोगले अन्ततः राष्ट्रिय सभा गठनपछि मात्र प्रतिनिधिसभाको समानुपातिक तर्फको सिट संख्या सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय सभा गठन पहिले कि प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या पहिले भन्ने प्रश्नमा आयोगले यसअघि मौनता साँध्दै आएको थियो । मुख्य निर्वाचन अधिकृत कार्यालयबाट पठाएको मतपत्रको विवरण प्रमाणीकरण गरी सिट संख्या समेत तोकिसकेको छ ।   आयोगको समानुपातिक निर्वाचन अधिकृत कार्यालयले टुंगो लगाएको सिट संख्या राष्ट्रियसभा गठनपछि मात्र सार्वजनिक गर्ने निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले जानकारी दिए । आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरिसकेको सन्र्दभमा राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक संविधान र कानुनसम्मत हुने आयुक्त पौडेलको भनाई रहेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई विहिबार आह्वान गरेको थियो ।

 

संविधानको धारा ८४ र प्रतिनिधसभा सदस्य निर्वाचनसम्बन्धी ऐनको दफा ६० अनुसार प्रतिनिधिसभाको समानुपातिक सिट संख्या निर्धारण गर्नुभन्दा पहिला राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने भएकाले आयोगले तत्काल समानुपातिकतर्फको सूची सार्वजनिक नगर्ने निर्णयमा पुगेको बुझिएको छ । संविधानको धारा ८४ को उपधारा ८ लाई आधार मानेर आयोग राष्ट्रियसभा गठनपछि मात्रै समानुपातिक सूची सार्वजनिक गर्न लागेको हो । उपधारा ८ मा ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य स.खयाको कम्तीमा एकतिहाई सदस्य महिला हुनुपर्ने छ’ भनेर व्याख्या गरेका कारण राष्ट्रियसभा निर्वाचन पहिला आवश्यक पर्ने तर्क गरिएको हो । – नेपाल समाचारपत्र